इटहरी : प्रदेश एक सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले स्वयंसेविकाको भूमिका राज्यले अपेक्षा गरेभन्दा बढी भएको बताएका छन् । सुनसरी जिल्लालाई पुर्णखोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रममा बोल्दै उनले स्वयंसेविकाको योगदानको खुलेर प्रशंसा गरेका हुन् । 

समाजमा कामको योगदान नभएको भन्दै ठुलो काम गर्दा पनि कम सम्मान पाइने गरेको बताए । समाजमा बाल शिक्षा पढाउने शिक्षिका र स्वयंसेविकाले सबैभन्दा धेरै योगदान पुर्‍याएको उनको बुझाई छ । भविष्य बोकेका बालबालिकाको स्याहार गर्नु र उनीहरूलाई माया गरेर हुर्काउनु सानो काम नभएको उनले प्रस्ट पारे । अबको समयमा जनस्वास्थ्यमा ध्यान दिनुपर्ने भन्दै मन्त्री कार्कीले सङ्घ प्रदेश र स्थानीय सरकारले स्वयंसेविका मार्फत जनस्वास्थ्यका कार्यक्रम लैजानुपर्ने बताए । 

जिल्ला समन्वय समितिका सभापति राजन मेहता सभापति रहेको कार्यक्रम जिल्ला खोप समन्वय समितिले आयोजना गरेको हो । “पुर्णखोप सुरक्षित भविष्य, स्थानीय तहको सहभागिता”, “पुर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता, स्वास्थ्य परिवार सुखको आधार”  भन्ने नारा सहित कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा १२ वटै पालीकाका प्रमुख उपप्रमुख सहित स्वास्थ्य स्वयंसेविकाको उपस्थिति रहेको थियो । पुर्णखोप विकासोन्मुख देशको लागि सामाजिक इन्डीकेटर रहेकोले यसलाई प्राथमिकतामा राखिएको स्वास्थ्य कार्यालय प्रमुख डा सागर प्रसाईँले बताए । उनका अनुसार जन्मेदेखि १५ महिनाका बालबालिकालाई पूर्ण खोप लगाइएको हो ।