धरान : कोरोना सङ्क्रमणका कारण दोस्रो चरणको लकडाउनमा बन्द भएको धरान स्थित कृषि उपज बजार स्थलको पशु बजार खुलेको दुई साताको अवधिमा ४ करोड बरावरको खसी बोकाको कारोबार भएको छ ।
सङ्क्रमणको जोखिम कायमै रहे पनि दसैँ तिहार नजिकिँदै गएपछि सर्वपक्षीय छलफलबाट कृषि बजारको पशु बजार खुल्ला गरिएको हो । खुल्ला गरिएसँगै कृषि बजारबाट खसी बोकाको कारोबार सुरु भएको हो । असोजको पहिला हप्तादेखि धरानस्थित कृषि खुल्ला गरिएको हो । खुल्ला गरिएको दुई हप्तामै खसी तथा बोकाको कारोबार उल्लेख्य बढेको छ।
दशैको खर्च जोहो गर्ने कृषकहरूले बजार खुल्ला भएको थाहा पाए लगत्तै कोसी पहाडी जिल्लाबाट खसी बोका विक्रीका लागि बजार ल्याउन थालेका छन् । बजारमा भारतीय व्यापारीहरू पनि आउन थालेका छन् ।
पूर्वी पहाडी क्षेत्र तथा सुनसरी र मोरङका कृषकहरूले खसी बोका विक्रीका लागि धरानको कृषि बजार ल्याउने गरेका छन् । लामो समयदेखि भएको बन्दका कारण दशैलाई लक्षित गरेर पालिएका खसी बोका विक्री नहुने र चाडपर्व मनाउन नपाइएला भन्ने त्रास कृर्षकहरुमा थियो । तर बजार खुलेसँगै उनीहरू उत्साहित बने पनि बजार भाउ नपाउँदा भने खिन्न भएका छन् ।
व्यापारी पनि दशैका मुखमा आएर खसी बोकाको कारोबार गर्न पाएकोमा खुसी देखिएका छन् । उनीहरू पनि खसी बोका विक्रीबाट विगतको जस्तो फाइदा नभएको बताउँछन् । दशैको खसी किन्न जानेहरूले भने खसीको भाउ आकासिएको बताउँछन् । उनीहरूले दशैको मुखमा खसी बोका किन्दा महँगो पर्ने प्रक्रिया दिएका छन् ।

धरान-१३ कृषि उपज बजारका अनुसार बजार खुल्ला भएको पहिलो शुक्रवार नै खसी बोकाको उल्लेख्य कारोबार भएको छ । कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले अनुसार बजार खुलेको दुई हप्तामै करिब ४ हजार वटा खसी बोकाको बिक्रीबाट ४ करोड बराबरको कारोबार भएको बताए । उनले यो बजारमा जिउँदो खसी प्रतिकेजी ५ सय ५० रुपैयाँ प्रतिकेजीमा विक्री भएको बताए ।
अरू बेला प्रति हप्ता डेढ करोडका कारोबार हुने यो बजारमा कोरोना संंक्रमणले कारोबार नै प्रभावित बनाएको व्यवस्थापक भट्टराईले बताए । कृषि बजारमा वार्षिक ६ करोड कम विगतको वर्षको तुलनामा कारोबार भएको बताइएको छ ।

        
                    
        
                                        
        
        
        
















        
        
















































