भैरहवा : रुपन्देहीको एक उद्योगबाट मुस्लिम भएकै कारण कामदारलाई निकालिएको छ। ओमसतिया-१ कटैया स्थित दुर्गा मोडर्न दाल मिलले उद्योगमा कार्यरत मुस्लिम कामदारलाई कोरोना संक्रमणको त्रास बढेको भन्दै कामबाट निकालेको हो।
अन्य मजदुरहरुले मुस्लिम मजदुरमा कोरोना भाइरस देखिएको भनी झुठा हल्ला उद्योगमा फैलाएपछि कार्यरत मुस्लिम कामदारहरुलाई उद्योगले बैशाख ९ गते गेटबाट नै फर्काएका थियो। नियमित जस्तै काम गर्न उद्योगमा जाँदा गेटमा रहेको सुरक्षा गार्डले माथिबाट आदेश आएको भन्दै मुस्लिम कामदारहरुलाई कामबाट फर्काएका थिए। तपाँर्इहरुलाई भित्र जान मिल्दैन माथिबाट प्रवेश गर्न नदिनु भन्ने आदेश आएको छ। गार्डलाई उदृत गर्दै कार्यरत मुस्लिम कामदारले भने।
उद्योग नजिकै घर भएका ओमसतिया-१ ठुठीपिपलका २ वर्षदेखि काम गर्दै आएका मेसिन हेल्फर हुसेन पठान, ढेड वर्षदेखि काम गर्दै आएका मेसिन हेल्फर सद्दाम हुसेन र ढेड महिनादेखि काम गर्देै आएका लेबर मुर्तुजा पठानसहित ६ जना मुस्लिम कामदारलाई ९ गते उद्योगको गेटबाटै तिमीहरुले कोरोना फैलाउँछौ भन्दै प्रवेश रोकिएको थियो।
सुरक्षा गार्डले भित्र जान नदिएपछि मजदुरहरुको ठेकेदारलाई सम्पर्क गर्दा ठेकेदारले पनि उद्योग भित्र कोरोना फैलिन्छ माथिको आदेश छ काम गर्न नआउनु भनेका थिए। उद्योगले प्रवेश नदिएपछि अहिले तीनै जना घर बसीरहेका छन्।
मैले काम गर्दा नै घर चलिरहेको थियो, ९ गतेबाट काम पनि बन्द छ, रमजान पनि सुरु भइसकेको छ घर चलाउन गाह्रो भइरहेको छ कामदार सद्दाम हुसेनले भने। यस्तो अवस्थामा अन्यत्र काम पनि पाइदैन, घरको समस्या बुझाउदा पनि २ वर्षदेखि काम गर्दै आएको उद्योगले निकाल्यो समस्या बुझेन घर चलाउन नि समस्या भइरहेको छ अर्का कामदार हुसेन पठानले भने।
उद्योगले ६ जना मध्ये अहिले ३ जनालाई काममा राखेको छ, उद्योगको रात्रीकालिन उत्पादन नै बन्द हुने अवस्था देखिएपछि कुर्बान अलि, जाबेद खान र इस्माइललाई काममा फिर्ता बोलाएको निकालिएका कामदारले भने।
कामदारको व्यवस्थापन हेर्ने ठेकेदार टंक खडकाले भने ६ जना मध्ये ३ जनाले नियमित काम गरिरहेका छन्, एक जनाले काम नगर्ने, अन्य २ जना उद्योगमा काम गर्न आउने बताएका छन्। उनीहरुको दैनिक हाजिरी हेर्दा भने ३ जना मात्र केही दिनदेखि आएका छन्, अन्य ३ जनाको हाजिर उद्योगको तथ्याङमा पाइएको छैन।
यता उद्योगका सञ्चालक बृजेश अग्रवालले कोरोना संक्रमणको हल्लाले ४-५ दिनको लागि काम गर्न नआउन आग्रह गरेको बताए। लकडाउन रहेपनि दाल उद्योग भएकोले उद्योग नियमित संचालनमा छ। घरमा जमातिहरुको रहेको हुन सक्छन् भनेर उनीबाट उद्योग भरि कोरोना फैलिन सक्छ। केही दिनका लागि नआउन भनेको होे, सधैको लागि निकालिएको होइन अग्रवालले भने। उनले नियमित रुपमा काम गर्न आइरहेको दाबी गरे।
https://nagariknews.nagariknetwork.com/news/127715/ बाट


































































