धरान : न्यू जयन्ती स्टोर धरान-३ का संचालक योवन खड्कीको श्रीमती गीता खड्गीलाई प्रहरीले इलाका प्रहरी कार्यालयमा लगेको छ ।

आज पनि पिडितहरुले विहान घर घेराउ गर्न थाले पछि इलाका प्रहरी कार्यालय धरानबाट गएको प्रहरी टोलीले उनलाई घरैबाट सुरक्षाकालागि इलाका प्रहरी कार्यालय लगेको र उनलाई पक्राउ भने नगरेकोे बताईएको छ । दैनिक घर घेराउ हुन थालेपछि उनलाई सुरक्षा दिन इलाका प्रहरी कार्यालय लगिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

धरान-३ मा रहेको न्यू जयन्ती स्टोरका संचालक योवन खड्गी  महिना दिन देखि सुन पसल बन्द गरेर फरार भएको भन्दै आफ्नो पैसा डुबेको भन्दै केही दिन अघि देखि घर पिडितले घेरा हाल्दै आएका थिए ।

आज विहान घर विक्रिमा छ भन्ने सुचना टाँसेको र घरमा योवनको श्रीमति गीता खड्गी मात्रै एक्लै भएकोले सुरक्षाको हिसावले उनलाई प्रहरीले लगेको बताईएको छ ।

१२ करोड भन्दा बढी रकम लिएर खड्गी फरार भएको पिडितले दाबी गरेका छन् ।
केही दिन अघि परिवारले खोजी गरिपाऊ भनी इलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएका थिए । छोरी अष्ट्रेलिया जाने भए पछि पुर्याउन
काठमाण्डौ गएका खड्गी त्यही देखि सम्पर्कमा नआएको बताईएको छ ।

इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार पिडितले कुनै उजुरी नदिएकोले प्रहरीले अनुसन्धान, पक्राउ तथा खानतालासी नगरिएको हो ।