धरान : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एक नम्बर प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकले धरानमा आईन्द्र विक्रम बेघा र इटहरीमा केशव विष्टलाई नगर इन्चार्जको जिम्मेवारी दिएको छ ।
झापाको बिर्तामोडमा सोमबार सम्पन्न नेकपाको एक नम्बर प्रदेश स्तरीय बैठकले प्रदेशको दुई उपमहानगरपालिकामा पार्टीको जिल्ला कमिटीले तोकेको इन्चार्ज हुँदा हुँदै अर्को इन्चार्ज तोकेको हो । नेकपा प्रदेश कमिटीले प्रदेश सदस्य आईन्द्र विक्रम बेघालाई धरान उपमहानगरपालिकाको इन्चार्ज र केशव विष्टलाई इटहरी उपमहानगरपालिकाको इन्चार्जको जिम्मेवारी दिएको हो । नेकपा जिल्ला कमिटी सुनसरीले गएको माघ ४ गते जिल्ला कमिटीको बैठकबाट धरान उपमहानगरपालिकामा फोक्वाहाङ सुब्बा चोत्लुङलाई र इटहरी उपमहानगरपालिकामा राजकुमार गिरीलाई इन्चार्जको जिम्मेवारी दिएको थियो । दुवै उपमहानगरमा पार्टीको इन्चार्ज हुँदाहुँदै नेकपाको प्रदेश समितिको बैठकले प्रदेश सदस्य दुई नेता आईन्द्र विक्रम बेघा र केशव विष्टलाई तोकेपछि नेकपा सुनसरीमा समस्या देखिएको छ ।
नेकपा प्रदेश कमिटीले गरेको निर्णय प्रति अहिले दुई उपमहानगरका नेकपा कार्यकर्ता समेत अन्योल छाएको छ । नेकपाको जिल्ला कमिटीको निर्णयबाट आफू धरान उपमहानगरको इन्चार्ज तोकिएको बताउँदै चोत्लुङले भने 'पार्टी भित्रको यो समस्या प्रदेश कमिटीले गरेको निर्णय प्रदेशले नै मिलाउनु पर्यो '। नेकपाको एक नम्बर प्रदेश कमिटीले तोकेको इन्चार्ज आईन्द्र विक्रम बेघा भने ' पार्टीले गरेको निर्णयको कार्यान्वयन हुनुपर्छ '। दुई जना इन्चार्ज हुँदैमा कुनै समस्या नहुने र प्रदेश सदस्यले प्रदेशकै जस्तो र जिल्ला सदस्यले जिल्लाकै हैसियतले इन्चार्जको भूमिका निर्वाह गर्नुपर्ने बताउछन् । यसमा कुनै विवाद नहुने दाबी गर्दै बेघाले भने 'पार्टीको काम कारबाहीलाई कार्यान्वयन गर्ने गरी दुई इन्चार्जले काम गर्नुपर्छ' ।
इटहरी उपमहानगरपालिकामा पनि नेकपा सुनसरीले राजकुमार गिरीलाई इन्चार्जको जिम्मेवारी दिएको थियो । अहिले प्रदेशले इटहरीमा केशव विष्टलाई इन्चार्ज तोकेको छ । इटहरी उपमहानगरका इन्चार्ज गिरीले पार्टीले गरेको निर्णयलाई मान्नै पर्ने भएकोले केही आपत्ति नभएको बताए ।
नेकपा प्रदेश कमिटीका सदस्य तथा सुनसरी जिल्ला सचिव रमेश बस्नेतले नेकपाको विधानले उपमहानगर कमिटी सङ्घीय निर्वाचन क्षेत्र समन्वय कमिटी सरह हुने र महानगर र जिल्लाको स्तर बराबर हुने भएकोले प्रदेश कमिटीले यस्तो निर्णय गरेको बताए । यसमा पार्टी भित्र कुनै विवाद नहुने बस्नेतको भनाई छ । गत वर्ष चैतमा विराटनगरमा भएको नेकपा एक नम्बर प्रदेश कमिटीको बैठक पछि सोमवार दोस्रो पूर्ण बैठक बिर्तामोडमा बसेको थियो ।






































































