धरान : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को १ नं. प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम स्थगित भएको छ ।

विश्व स्वास्थ्य संगठन (डव्लु एच ओ) ले नेपाललाई कोरोनाको उच्च जोखिमको सुचीमा राखेकोले नेपाल सरकारले पनि सार्वजानिक सभा सम्मेलन नगर्न सबैमा सुचना जारी गरीसकेकोले कोरोनाकै कारण प्रदेश स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरिएको नेकपा प्रदेश कमिटीका सदस्य तथा सुनसरी जिल्ला सचिव रमेश बस्नेतले कपुरीलाई जानकारी दिए ।

आजदेखि हुने १ नं. प्रदेश स्तरीय भेला तथा प्रशिक्षणमा प्रदेश १ का पार्टी  केन्द्रीय नेताहरु, प्रदेश कमिटी सदस्यहरु र १४ वटै जिल्लाका सचिबालय सदस्यहरु सहित करिव एक हजार बढीको सहभागिता रहने बताईएको थियो । कार्यक्रम स्थलमा केही आईपुगेका र अरु बाटोमा आउने क्रममै रहेकोले उनीहरु पनि बाटो बाटै फर्किएको बताईएको छ ।

प्रशिक्षणमा नेकपाका अध्यक्ष प्रचण्ड, सचिवालय सदस्य रामबहादुर थापा बादल, महासचिव विष्णुप्रसाद पौडेल लगायतका नेताहरुको सहभागिता रहने बताईएको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विमानस्थलबाटै फर्किएका छन् । १ नं. प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम कहिले हुने भन्ने बारेमा कुनै निर्णय भने भएन । प्रशिक्षण अनिश्चितकालका लागि स्थगित भएको बस्नेतले बताएका छन् ।

भोली फागुन २१ गते बुधवार सुखानी सहिद स्मृति दिवसको अवसरमा सुखानीमा हुने सहिद स्मृति सभालाई पनि अध्यक्ष प्रचण्ड, महासचिव बिष्णु पौडेलले सम्बोधन गर्ने बताईएको थियो । त्यो कार्यक्रम पनि भव्यरुपमा नहुने भएको छ । सुखानीमा हुने सहिद स्मृति सभा सामान्य जमघटमा हुने नेकपा झापाले जनाएको छ ।