धरान: मोरङको बिराटनगर र सुनसरीको धरानबाट प्रहरीले लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।

धरान ८ स्थित तीनकुनेबाट पनि प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको प्रहरी कार्यालयले जनाएको छ । अस्थाई प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित धरान ११ का २१ बर्षी मनिष राई र धरान ६ बस्ने २३ बर्षीय दिपक राईलाई पक्राउ गरेको हो ।

बिहिबार साँझ करिब पौने ७ बजेको समयमा ईटहरीबाट धरानतर्फ जाँदै गरेको बसमा सवार रहेका उनीहरुलाई शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषधसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । उनीहरुको साथबाट नाईट्रोसन ट्याब्लेट ३० चक्की र स्पास्मोप्रोक्सिभन २० चक्की फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी, लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित धरान २ बस्ने २३ बर्षीय मो.यासिफ अली र बिराटनगर १७ बस्ने १९ बर्षीय सुवास रामलाई पक्राउ गरेको हो । बिहिबार दिउँसो करिब साढे २ बजेको समयमा बिराटनगर ५ स्थित बिराट नर्सिङ होम नजिक शंकास्पद अवस्थामा हिडिरहेका दुवैलाई चेकजाँचको क्रममा लागुऔषधीसहित समातिएको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनीहरुबाट एभिल ६० एम्पुल, लुपिजेसिक ५३ एम्पुल र डाइजेल्याव ५६ एम्पुल पनि वरामद भएको छ । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले विज्ञप्तीमार्फत जनाएको छ ।