ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स अरुण तेस्रोको ट्रान्सफर्मर धनकुटामा थन्कियो शीर्षकको समाचार छापिएको छ । अरुण तेस्रो जलविधुत् आयोजनाको लागि प्रयोग गर्न भारतको गुजरातदेखि संखुवासभा ल्याइदै गरेको ट्रान्सफर्मर ९ दिनदेखि धनकुटाको हिले बजारमा थन्किएको छ । ढल निर्माणका कारण राजमार्ग अवरुद्ध हुँदा ४० टन तौलको ट्रान्सफर्मर कोशी राजमार्गअन्तर्गत हिले बजारको बीच सडक साँघुरो भएकाले थन्किएको हो । ४८ चक्के हेभी क्यारियरमा २ वटा ट्रकको सहाराले ल्याइदै गरेको ट्रान्सफर्मर बाटोका कारण थन्किएको माँ अन्नपूर्ण ट्रान्सपोर्ट कम्पनीका कर्मचारी तमुन्नाले बताए । गुजरातबाट ४७ औं दिनमा ट्रान्सफर्मर बोकेको गाडी धनकुटा आइपुगेको ट्रान्सपोर्ट कम्पनीका सुपरभाइजर मोहम्मद मैयाजले बताए । उनले ट्रान्सफर्मरलाई सुरक्षित तरिकाले अरुण तेस्रो निर्माणस्थल पुर्याउन अझै १५ दिनभन्दा बढी समय लाग्ने बताए ।

आजको ब्लाष्ट टाईम्समा पानी खोज्न तमोर धाउँदै स्थानीय शीर्षकको अर्को समाचार पनि छापिएको छ । बस्तीमुनी तमोर नदि बगिरहेको छ । नदीमाथिको बस्ती फुंग उडेको देखिन्छ । पातलो बस्तीमा खेतीयोग्य जमिन बाझिएका छन् । बसाईँ राइले गाउँ सुन्सान छ । गाउँका बालबालिका खानेपानी खोज्न जाँदा समयमा विद्यालय पुग्दैनन् । यो पीडा तेह्रथुमको छथर गाउँपालिकाका नागरिकले एकदशक देखि भोग्दै आएका छन् । खानेपानीको समस्याका कारण लामो समयदेखि यस्तो पीडा भोग्दै आएका हुन् । दःखविमार हुँदा गाउँमा युवा छैनन् । सुख्खाको कारणले उत्पादन हुन छाडेपछि युवाहरु विदेशिएका छन् । गाउँमा खानेपानीको धारा र कुवा सुकेपछि नागरिकले कष्टकर जीवन बिताउँदै आएका छन् । बस्तीमाथिबाट ल्याएको पानीले धान्न नसकेपछि तमोर नदी पुग्नुपर्ने बाध्यता रहेको छथर गाउँपालिका ४ हाक्पाराका धनप्रसाद लिम्बुले बताए । ‘सुख्खा खडेरीले मकै र जुनेलो फल्न छोडेको छ । तराईबाट चामल, दाल र तरकारी किनेर खानुपर्छ । त्यसमा पनि तमोरको पानी बोक्नुपर्छ’ चिन्तित मुद्रमा उनले सुनाए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा इलाममा हिउँ परेपछि जनजीवन प्रभावित शीर्षकको समाचार छापिएको छ । इलाम जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र इलामको सन्दकपुर क्षेत्रमा दुई दिन हिउँ परेपछि जनजीवन प्रभावित भएको छ । सन्दकपुर गाउँपालिकाको ४ नम्बर वडा सन्दकपुर, ५ नम्बर वडाको जौवारी, माईजोगमाई गाउँपालिकाको थुम्के लगायतका जिल्लाका माथिल्लो भूभागमा हिउँ परेको छ । बाक्लो रुपमा हिमपात भएको हो । सन्दकपुर गाउँपालिका दुई माईमझुवासम्म हिउँ परेको स्थानीयले बताएका छन् । हिउँपरेसँगै जिल्लामा चिसो पनि बढेको छ । चिसोका कारण स्थानीयलाई दैनिक जिविकोपार्जनमा समेत असहज बन्दै गएको स्थानीय दिनेश ढकालले बताए । उनले भने, ‘केटाकेटी, वृद्धवृद्धा र सुत्केरीलाई चिसोका कारण समस्या भएको छ, लेकाली क्षेत्रमा हिउँ परेपछि गाईवस्तुलाई घाँस काट्न र लाउन कठिनाई भएको छ ।’

औजार : आजको औजार दैनिकमा वीपी प्रतिष्ठानमा तलब वृद्धिका बारेमा कार्यदल शीर्षकको समाचार छापिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत चिकित्सा तथा शिक्षक र कर्मचारीको वृद्धि गरिएको तलबका विषयमा प्रतिष्ठानले एक कार्यदल गठन गरेको छ । प्रतिष्ठानका एनेस्थेसिया विभागमा प्रा.डा. विरेन्द्र साहको संयोजकमा ५ सदस्यीय कार्यदल गठन गरेको । प्रतिष्ठानका चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाज र सम्पूर्ण कर्मचारी समन्वय समितिसँग भएको सहमति बमोजिम कार्यबाहक उपकुलपति प्रा.डा. गुरु खनालले बताए । कार्यबाहक उपकुलपति प्रा.डा. खनालले भने, ‘सिनेटले कति सक्छौं, वृद्धि भएको तलब खुवाउ भनेर निर्णय गरेको छ, हामीले कति खुवाउन सकिन्छ भनेर वास्तविक अवस्था बुझेर रिपोर्ट दिन कार्यद लबनेको हो ।’