धरान :  तीन बर्ष अघिदेखि ज्यान मार्ने उद्योग मुद्दा खेपिरहेका तरुण दलको जिल्ला उपसभापति सन्तोष बिकसहित ४ जनालाई जिल्ला अदालत सुनसरीले कुसर ठहर गरेको छ ।

तत्कालिन एमाले धरान उपमहानगर कमिटि सदस्य तथा युवा फाँट इञ्चार्ज दिवस राईलाई आक्रमण गरी गम्भीर घाइते बनाएको घटनामा बिकसहित ७ जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । यो मुद्दामा विपक्षी बनाइएका ७ जना मध्ये अदालतले ४ जनालाई कसुर ठहर गरेको हो । कसुर ठहर भएका अन्यमा सेते भनिने नरसिंह राई, कान्छा भनिने प्रदिप राई र अनिल रसाइली छन् । यो मुद्दामा विपक्षी बनाइएका अन्य तीनमध्ये २ जनाले सफाई पाएका छन् भने एक जना म्याद तामेल नहुदा मुल्तवीमा छन् । कसुर ठहर भएका ४ जना मध्ये प्रदिप राई तारेखमा रहेको बेला नै बेलायत गइसकेका छन् ।

एक साताअघि (भदौ १५) जिल्ला अदालतका १ नम्बर न्यायाधिश राधाकृष्ण उप्रेतीको इजलाशले ४ जनालाई कसुर ठहर गरेको हो । सुनसरी जिल्ला अदालतका प्रवक्ता गोपाल प्रसाद गिरीले सन्तोष बिकसहित ४ जनाको हकमा कसुर ठहर भएको पुष्टि गरे । तर, सजाय तोकिन भने बाँकी रहेको उनले बताए । ‘कसुर ठहर भएको छ, तर के कति सजाय हुने हो भनेर तोकिन बाँकी छ,’प्रवक्ता गोपालप्रसाद गिरीले भने । उनले मुद्दाको थप जानकारी भने दिन भने चाहेनन् ।

अदालत स्रोतका अनुसार बिहिबार यो मुद्दाको पेशी छ । उक्त पेशीबाट कसुर ठहर भएकाहरुलाई के कति सजाय हुने भनेर तोकिनेछ । कैद सजाय ३ बर्षभन्दा बढी हुने मुद्दाको हकमा पहिला कसुर ठहर गर्ने र अर्को पटक कैद सजाय तोक्ने प्रावधान अनुसार यो मुद्दाको प्रक्रिया अघि बढेको स्रोत बताउँछ । ‘कसुर ठहर भएको हो, यसको अर्थ अपराध स्थापित भयो,’अदालत स्रोतले भन्यो,‘सजाय भदौ २६ गते तोकिन्छ ।’ बिहिबार मुद्दाको पक्ष र विपक्षका वकिलहरुको बहस कैद कति तोक्ने भनेर केन्द्रीत हुनेछ । सजाय कति हुने भनेर निर्णय गर्ने तजबिज भने न्यायधिशमा हुनेछ ।

कानुनका जानकारहरुका अनुसार यो मुद्दा पुरानो मुलुकी ऐन लागु भएको समयमा दर्ता भएको हो । त्यसैले उक्त ऐन अनुसार नै कुसर ठहर भएको हो भने सोही ऐन अनुसार नै सजाय तोकिनुपर्ने हुन्छ । मुलुकी ऐनमा ज्यान मार्ने उद्योगमा कसुर ठहर भए ५ बर्षदेखि १२ बर्षसम्म कैद सजायको व्यवस्था थियो । अपराध संहिता २०७४ को दफा १८३ को उपदफा (२) मा ज्यान मार्ने उद्योगमा कसुर गर्ने वा गराउनेलाई १० बर्षसम्म कैद र १ लाख रुपैयासम्म जरिवानाको व्यवस्था छ । त्यसैले यो मुद्दामा सजाय कम दिलाउन कसुर ठहर भएकाहरुले लविङ एवं चलखेल गरिरहेको स्रोतले जनाएको छ । ‘यो मुद्दा पुरानो भएकोले मुलुकी ऐनअनुसार नै सजाय तोकिनुपर्ने हो, तथापी न्यायधिशको तजबिजमा भर पर्छ,’स्रोतले भन्यो,‘कम सजाय दिलाउन नयाँ अपराध संहिता आकर्षित गराउन चलखेल भइसकेको छ ।’

एक कानुन व्यवसायीका अनुसार यो मुद्दामा नयाँ अपराध संहिता आकर्षित हुने न्यायधिशको तजबिज भएमा इजलाशले कसुर ठहर भएकाहरुलाई १ दिनदेखि १० बर्षको बीचमा जति पनि कैद सजाय तोक्न सक्नेछ । त्यसैको लागि तरुण उपसभापति बिकले पार्टीका नेताहरुलाई पनि गुहारिरहेको स्रोतको भनाई छ । दिवस राईमाथि २०७३ माघ १६ गते राती धरान १८ स्थित शिवमार्गमा सांघातिक आक्रमण भएको थियो । विपी प्रतिष्ठानमा उपचार सम्भव नभएपछि उनलाई काठमाण्डौं उपचारको लागि लगिएको थियो । दिवसलाई सन्तोष बिकसहितको समुहले धारिलो हतियार प्रयोग गरि आक्रमण गरेको आरोपमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । घटनाकै दिन बिक पक्राउ परेपनि पछि धरौटीमा छुटेका थिए ।