धरान: धरान वडा नम्बर १४ विजयपुरमा अवस्थित केन्द्रीय प्रविधि क्याम्पस, हात्तिसारमा शनिबार भेटिएको गोहोरो उद्दार गरी हरियाली सामुदायिक वन समुहको जिम्मा लगाइएको छ ।

निक्कै लामो र धेरै तौल भए पनि यो गोहोरो दुर्लभ प्रजाति(सुन गोहोरो) भने नभएको डिभिजन वन कार्यालयले जनाएको छ । यो गोहोरो शनिबार क्याम्पसको क्वार्टरमा भेटिएको थियो । सहायक क्याम्पस प्रमुख हेमन्त खनालका अनुसार यो गोहोरो करिब १८ किलो तौलको थियो भने डेढ मिटर लम्बाई थियो । ‘अर्को एउटा पनि थियो, त्यो ठुलो पेट भएकोले अझ धेरै तौल भएको थियो । विस्तारै हिड्दै गएकोले अर्काे चै गर्भ बोकेको पोथी हुनुपर्छ,’खनालले भने,‘त्यो चै आफै झाडीतिर गयो ।’

Untitled-2 5

घरभित्र छिरेको गोहोरो भने एकदम छिटो दौडिने थियो । बाहिर निकालेपछि दौडिएर टाउको लुकाएर बसेको थियो । वन कार्यालयलाई जानकारी गराएपछि ८,१० जनाको टोली आएर उक्त गोहोरोलाई समातेर लगेका थिए । वन कर्मचारीहरुले उक्त गोहोरोलाई धरान १९ स्थित हरियाली वन समुहलाई जिम्मा लगाएको छ । त्यहाँ प्रदेश सरकार र डिभिजन वन कार्यालयको बजेटबाट वन्यजन्तु उद्दार केन्द्र निर्माण भइरहेको छ । ‘दुर्लभ सुन गोहोरो पो हो कि भन्ने थियो, होइन रहेछ । यो कमन खालको गोहोरो हो,’सहायक वन अधिकृत ज्ञानकुमार लामाले भने,‘हरियालीमा वन्यजन्त उद्दार केन्द्र निर्माण हुदैछ, त्यही राख्नलाई दिएका छौं ।’