धरान: इन्टर्न डाक्टरहरुको तलब, भत्ता वृद्धि गर्न माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सम्पूर्ण इन्टर्न डाक्टरहरु चरणवद्ध आन्दोलनमा उत्रिएका छन् ।

आफ्नो माग बारे विगतमा पनि आन्दोलन हुँदा पदाधिकारीहरुबाट कुनै ठोस सुनुवाई र निर्णय नभएको साथै वार्तामा बस्दा पनि इन्टर्न डाक्टरहरुलाई झुलाउने काम मात्र भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । करिब ४ महिनाअघि डिन (परिक्षा)को संयोजकत्वमा एक समिति बनेको थियो । उक्त समितिको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने सहमति उपकुलपति डा.राजकुमार रौनियारले गरेपनि कार्यान्वयन नभएको इन्टर्न डाक्टरहरुको भनाई छ । उक्त समितिको सिफारिस बमोजिम इन्टर्न डाक्टरहरुको तलब भत्ता नेपाल सरकारको आठौं तहको मेडिकल अफिसरको तलबको ५० प्रतिशत(कम्तीमा पचास प्रतिशत)बराबर कायम गर्न आन्दोलित इन्टर्न डाक्टरहरुको माग छ ।

सहमतिको लागि हदैसम्म पहिल गर्दागर्दै पनि माग प्रति प्रतिष्ठान व्यवस्थापनले अलिकति पनि लचकता नदेखाउने र आफ्नै बिद्धार्थीप्रति असंवेदनशील भएकोले आन्दोलनमा उत्रिन बाध्य भएको संघर्ष समितिका संयोजक डा.सञ्जय वरालले बताए । उनका अनुसार जेठ १० गतेसम्म माग सम्बोधन गर्न अल्टिमेटम दिइएको छ । पहिलो चरणको आन्दोलन स्वरूप आज इन्र्टन डाक्टरहरुले शान्तिपुर्ण वृहत र्यालीको आयोजना गरेको थियो भने जेठ १२ गतेपछि आफ्नो सम्पूर्ण जिम्बेवारीहरु छोडेर पुर्णरुपमा आन्दोलनमा होमिने पनि डा.वरालले जानकारी दिए ।