झापा : इलाका प्रशासन कार्यालय दमकको तीन तले पक्की प्रशासनिक भवन निर्माण भएको छ ।

दमकको पशुहाट राजमार्ग दक्षिण-८ मा दाताहरूले उपलब्ध गराएका दश कठ्ठा जमिनमा सङ्घीय सरकारको चार करोड ५५ लाख बजेटबाट सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।
कार्यालयका शाखा अधिकृत सूर्यमान बानियाँका अनुसार निर्माण भएको भवन छिट्टै हस्तान्तरणको प्रक्रियामा रहेको र यही माघ १६ गतेदेखि नयाँ भवनबाट कार्यालय स्थानान्तरण गर्ने तयारी गरिएको छ ।

झन्डै एक दशकदेखि नेपाल भुटान भुटानी शरणार्थी संयुक्त प्रमाणीकरणको कार्यालयमै इलाका प्रशासन कार्यालय सञ्चालन हुँदै आएको छ । कार्यालय पुरानो कच्ची घरमा रहेको तथा विभागीय कोठा समेत पर्याप्त नहुँदा कामकाजमा समस्या झेल्नु परेको शाखा अधिकृत बानियाँले बताए ।

जिल्ला प्रशासन कार्यालय झापा अन्तर्गतको दमक सहित गौरीगञ्जमा इलाका प्रशासन कार्यालय सञ्चालनमा रहेका छन् । ती कार्यालयले नागरिकता, राहदानी, शान्तिसुरक्षा लगायतको सरकारी सुविधा उपलब्ध गराउँदै आएको छ ।