झापा : तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सबै जिल्लाका सदरमुकाम चार लेन सडकले जोड्ने योजना ल्याएका थिए । सोही सरकारले अघि सारेको योजना अनुरूप बिर्तामोड-चन्द्रगढी सडक निर्माणको काम भइरहेको छ ।

ओली सरकारले पूर्वपश्चिम राजमार्गदेखि सदरमुकामसम्म चार लेनको सडक निर्माण गर्ने योजनाअघि सारेको थियो । बिर्तामोडको मुक्ति चोकदेखि गरामनी नजिकैसम्म चार लेनको सडक यसअघि नै निर्माण भइसकेको छ । त्यहाँदेखि बाँकी रहेको काम काठमाडौँस्थित निर्माण कम्पनी कन्टेक प्रालिले गरिरहेको छ ।

तर, निर्माणाधीन बिर्तामोड देखि चन्द्रगढीसम्मको चार लेन सडकको काम १२ प्रतिशत मात्र सम्पन्न भएको छ । ८.४१ किलोमिटर सडक चारआलीबाट चन्द्रगढीमा जोडिएको ठाउँमा निर्माण हुने सडक डिभिजन कार्यालय दमकले जनाएको छ । सडक डिभिजन कार्यालय दमकका अनुसार कामको गति अनुसार समयमै सकिने विश्वास गरिएको छ ।

चार लेनको कालोपत्रे सडक निर्माणका लागि नेपाल सरकारसँग निर्माण कम्पनीले ५८ करोड २ लाखमा सम्झौता गरेको छ । २०८० भदौ ४ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको सडक डिभिजन कार्यालय दमकका प्रमुख रमेश प्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार देउनियाँ पुल बाहेकका काम निर्माण व्यवसायीले गर्नेछ । उनले सडकको दुवै भागमा पर्खाल लगाउने, कल्भर्टहरू निर्माण गर्ने काम चलिरहेको जानकारी दिए । स्लाव र हमपाइप सहितका कल्भर्ट निर्माण गर्नुपर्ने सो सडकमा अहिलेकै सम्झौताले देउनियाँ पुल नबन्ने बताए ।

पौडेलले लकडाउनका कारण ढिलो निर्माण सुरु भएको सडक निर्माण व्यवसायीले चाहेमा समयमै सकिने बताएका छन् । “अहिले माटोको अभाव छ । सबै अनुकूल भएमा सम्झौताभित्र सकिने निश्चित छ ।” पौडेलले भने । उनका अनुसार आगामी असार मसान्तसम्मको कामले बाँकी अनुमान गर्न सकिने छ ।