यति बेला म सम्झिरहेछु, फुङ्सिङको मेलामा 'लप' परेका डुक्पा र सुक्मती के गर्दै होलान् ?

पूर्वमा माओवादी द्धन्दकाल ०५७ को अन्तिम तिर अलिक चर्किएर जनआन्दोलन ०६२/६३ ले छिनोफानो नगरेसम्म उनीहरू बिच घमासान 'लप' परेका थियो ।

क्या संयोग एकातिर पूर्वी पहाडमा माओवादीको आतङ्क अर्को तिर डुक्पा र सुक्मतीको 'लप संघर्ष' । कम्ता गाह्रो भएन उनीहरूलाई 'लप' गर्न । पान्थरे (इलामे पनि) साथी भनौँ कि काठमाण्डौले पत्रकार वसन्त बस्नेतको नयाँ उपन्यास ‘महाभारा’ भित्रका यी दुई पात्र प्रमुख नायक नायिका हुन् ।

उनीहरू र उनीहरूसँग जोडिएका अनेकपात्रहरुले व्यक्त गर्ने शैलीलाई जस्ताको तस्तै उधिनेका उपन्यासकार बस्नेतले मलाई यस्तो बनाए की क्रमशः पढ्दै अन्तिम पाना नपढेसम्म डुक्पा र सुक्मतीकै सम्मै लतार्‍यो ।

उपन्यासका प्रत्येक पानामा पूर्वी पहाडमा बसोबास गर्ने ठेट रैथाने जीवन शैली, बोलिचाली, रहनसहन देखि ताप्लेजुङ पान्थर, इलाम हुँदै झापासम्मका गाँउबस्तीलाई उधिन्दै धरानको बगरकोट, इटहरी, दमक, बिर्तामोड-चारआली अनि इलाम स्थित लारुम्बाका वर्णनहरूले ध्यान तान्छ ।

मैले यहाँ महाभारा उपन्यासको सैद्धान्तिक समालोचना वा समीक्षा गर्न लागेको होइन । नत उपन्यासको बढाइचढाई गर्न शब्द खर्च गर्नै छ । उपन्यास अध्ययन गर्दा मैले पाएको र अनुभूत गरेको कुरा लेख्न चाहेको मात्र हो । कुरा आवरणदेखि सुरु गरौँ । आवरण कसले तयार गरेको हो व्यक्तिको नाम छैन ।

शायद फाइन प्रिन्ट प्रालिको कर्पोरेट कार्यालयकै कुनै डिजाइनरले तयार गरेका होलान् । बिम्बात्मक छ आवरण पुरै । पहाडमा कुनै लिम्बुको घर जस्तै । अनि छ एउटा ट्रकको चित्र । र, ट्रकको डालीमा लेखिएको छ याक्थुङ सिरिजङ्गा लिपिमै ‘महाभारा’ ।

उपन्यासको कभर पेज पल्टाउँदै जाँदा पाचौं पेजमा चार लाइन त सिरिजङ्गा लिपि मै यो उपन्यास डुक्पा र सुक्मतीको नायकत्वको सार भएको भनेर लेखेकै छन् । गैर याक्थुङ लिम्बु पाठकलाई त अप्ठ्यारै पर्ला पढ्न त्यो भनाई । आफूलाई याक्थुङ लिम्बु भन्ने अनि लिम्बुवान र लिपी भाषाको हाँक दिने मै हुँ भनेर गर्जिने लिम्बुलाई पनि त्यो लिपी पढ्न र अनुवाद गर्न मुस्किल पर्नेछ गफ मात्र दिने बानी परेर ।

महाभाराले यति चाही लिम्बुहरूलाई लिपि पढ सिक भनेर दनक दिएकै हो । उपन्यासको नाम महाभारा देख्दा कतिपयलाई लाग्न सक्छ यो झापाको दक्षिणी सीमावर्ती गाउँ महाभारा तिरको कथा पो हो कि ? तर होइन । भुगोलशास्त्रीले भन्ने गरेको महाभारत पर्वत शृङ्खलालाई पूर्वी पहाडमा बोलीचालीको भाषामा भन्ने गरिएको महाभारा शब्दलाई उपन्यासकार बस्नेतले उपन्यासको नाम दिएका छन् ।

अनि सुरु हुन्छ महाभाराको यात्रा एउटा शीर्षक 'टाढाको पहाडमा' बाट र टुङ्गिन्छ उभौलीमा पुगेर । टाढाको पहाडमा शीर्षक अन्तर्गतको कथा पढ्दै थाहा हुन्छ तत्कालीन राज वीरेन्द्रको बंशनास भएको बेलादेखि पूर्वी पहाडका गाँउगाँउमा कसरी बिस्तारै माओवादी द्धन्द घुस्यो भनेर ।

लिम्बु गाउँमा हुर्केको तामाङ बौद्धमार्गी तन्नेरी डुक्पा र लिम्बुनी तरुनी सुक्मतीको प्रेम सुरु भएको कथाले पाठकलाई अन्तिमसम्म तान्छ । तर बिच बिचमा डुक्पा र सुक्मतीको प्रेममात्र छैन प्रेमसँगै त्यो द्धन्दकालमा भएका यथार्थ घट्नाहरुलाई औपन्यासिक जलप लगाएर झन् टिलिक्क टल्काएका छन् उपन्यासकार बस्नेतले । कतैकतै उनैको भोगाई पो हो कि भन्ने झलक पनि पाइन्छ ।

लिम्बु गाउँमा हुर्कने खस आर्य क्षेत्री पात्रको ठाउँमा उनले तामाङ समुदायको डुक्पालाई उभ्याएर लिम्बु संस्कार संस्कृति अनुसार बोलेको, धान नाचेको च्याब्रुङ नाचेको, पक्लुङ (छेलो) हानेको, मेला हाट बजार भरेको कथा बुनेका त होइनन् ? उपन्यासमा प्रयोग भएका पात्रहरू मध्ये अधिकांश वास्तविक छन् । जस्तै प्रचण्ड, बाबुराम, बादल, भूविक्रम नेम्बाङ, देउमान आङ्देम्बे आदि ।

उपन्यास भित्र अनेक पात्र भए पनि कतिपय गौण बनाइएका छन् । कथा यसरी बुनिएको छ कि डुक्पा र सुक्मतीको स्वच्छ प्रेमको ठुलो आकाशमा माओवादी द्धन्द, द्धन्दले निम्त्याएका तत्कालीन घट्नाहरु, लिम्बुवानी पहाडमा छिरेको क्रिश्चीयन धर्म र रैथाने लारुम्बाको किरात धर्ममा देखिएका घट्नालाई पात्रहरूसँग जोडेर उपन्यासलाई अरुणपुर्वको रहनसहन चिनाउने प्रयास गरिएको छ ।

माओवादी द्धन्द ०५२ बाट सुरु भए पनि पूर्वमा ०५७ ताका तेह्रथुमको पोक्लाबाङ (हाल फेदाप गाउँपालिका) हानेपछि सुरु भएको हो । उपन्यासको समय यसै आसपासको छ । द्धन्दमा कसरी सर्वसाधारण मान्छे अनिच्छा हुँदाहुँदै पनि माओवादी बन्न पुगे र भन्ने कुरा बुझ्न उपन्यास नै पढ्नु पर्छ ।

त्यसमा पनि एउटा पात्रमा किशोर वयदेखि हुने उत्सुकता, जिज्ञासा, अभाव, अपमान, घर झगडा, उपद्रो आदिलाई पार गर्दै जाँदा उमेरको गतिसँगै पाउने अनुभव र ज्ञानले मान्छेलाई कसरी शान्त, विवेकी, एक प्रकारले कहिले काही त दार्शनिक बनाउँछ भनेर पनि देखाउन खोजिएको छ ।

उपन्यासमा समयले मानिसलाई कसरी धार्मिक बनाउँछ र विवेक चल्दै गएपछि कसरी त्यो धर्म देखि विमुख हुन पुग्छ भन्ने पनि देखाएको छ । सुक्मती आफ्नो प्रिय सोल्टी डुक्पाबाट अलगिएको बेला (ब्रेकअप चाही भएको होइन) बैरागिएपछि लारुम्बा पुग्छिन् र किरात धर्म अङ्गालेर त्यसैमा रमाउन थाल्छिन् तर त्यहाँभित्र पनि अनेक तहको समस्या र विवाद अनि तनाव देखेर, भोगेर बुझेर फेरि गाँउ तिर फर्केर शिक्षण पेसामा आबद्ध भएको कथाले धर्म वास्तवमा केही होइन धर्मले पनि मान्छेलाई शान्ति दिन सक्दैन भन्ने देखाएको छ ।

त्यति मात्र होइन माओवादीका नेता सिक्साम्बा पात्रसँग दोहोरो संवाद गर्ने मेरिना आफै नै सुरु देखिनै क्रिश्चियनको सुप्रिम मुख्या प्रभु येशुको शरणमा परेर बाइबल वाणी नै सत्य हो अरू सबै मिथ्या हो भन्ने व्यक्ति अन्ततः माओवादी बनेको कथाले उपन्यासलाई ‘प्याराडक्स’ बनाइदिएको छ ।

अर्थात् मान्छेको विवेकले समय चिन्छ र सोही अनुसार ऊ लतारिन्छ घिसारिन्छ । मिङ्सो पात्र अर्थात् मिकुसेबारे जान्न चाहनेले उपन्यास पुरै पढेमा किरात धर्म भित्रको यो कुन वास्तविक पात्र हो भन्ने प्रस्ट थाहा पाउने छन् । उपन्यास भरी लिम्बु लवज मात्र छैन, भाषा पनि प्रयोग भएका छन् । यसले के सङ्केत गरेको छ भने पूर्वका लिम्बुवानी बस्तीमा बस्ने गैर लिम्बुहरू पनि लिम्बु भाषा बोल्छन्, तरुनीको कोमलो हात समाएर पालाम गाउँदै धान नाच्छन्, पक्लुङ खेल्छन् र च्याब्रुङको तालमा खुट्टा हल्लाउँछन् ।

सामान्य हलो कोदालो, घाँस दाउरा, मेलापातमा जीवन बिताउने गाउँलेका अगाडि परिवर्तनको नाममा भाषण गर्नेहरूले जब गाह्रो र गह्रौँ शब्द प्रयोग गर्छन् तब सुन्ने जति ट्वां पर्छन् । त्यसबेला माओवादी नेताहरूले प्रयोग गरेका शब्दहरू छलाङ, क्रान्ति, प्रतिक्रान्ति, सर्वहारा, सामन्ती, बुर्जुवा शिक्षा, लेनिन, माओत्सेतुङ, दास क्यापिटल नबुझेपछि त्यसको अर्थ के लगाउने ? त्यो पनि खाँटी लिम्बुवानी बस्तीमा । उपन्यासले यसैको बारेमा मिहिनरुपमा गाउँले पात्रहरूमार्फत भन्न लगाएको छ ।

उपन्यासमा सेक्मुरी फुल (सेल्लरी फुल) को विम्ब जताततै प्रयोग गरिएको छ । सेक्मुरी वास्तवमा याक्थुङ मुन्धुम अनुसार जीवनको प्रतीक हो । डुक्पा र सुक्मती बिचको प्रेमको बेला होस या अरू बेला सेक्मुरी (सेल्लरी) फुलको महत्त्व र उपयोगितालाई उपन्यासकार बस्नेतले राम्ररी बुझेरै प्रयोग गरेका छन् ।

इम्बिरि याङ्धाङ्वा (तमोर सभ्यता) बाट विकसित याक्थुङ मुन्धुममा खाप्पुना मरङ्नाको दुई जुम्ल्याहा छोराहरू मध्ये मानवीय गुण भएको भाइ नामसामी र बाघ जस्तो अहङ्कारी हिंस्रक गुण भएको दाजु केसामी बिच युद्ध हुँदा आमाले जीवनको प्रतीकको रूपमा सेक्मुरी र मृत्युको प्रतीकको रूपमा अन्दङ्फुङ (बाबरी) लाई कलसमा सजाएकी हुन्छिन् ।

अन्तमा सेक्मुरी झर्झराउदो भएर फुल्दा अन्दङफुङ भने मुर्झाउछ । महाभारा उपन्यासमा लेखक बस्नेतले यसरी पनि पूर्वेली याक्थुङ लिम्बुको मुन्धुमी मिथकीय महत्त्वलाई स्थान दिँदै नौलोपना थपेका छन् डुक्पा र सुक्मतीलाई सेक्मुरी फुङ बनाएर ।

उपन्यासकार लेखक युग पाठकले याक्थुङ समुदायले परम्परागतरुपमा गर्दै ल्याएको ‘माङ्गेना’ (शिर उठाउनी अनुष्ठान) शब्दलाई टिपेर ‘माङ्गेना’ भनेर पुस्तक नै तयार पारेका थिए । अहिले यस्तो लाग्छ महाभारा उपन्यासको छ्दम नाम ‘सेक्मुरी’ हो ।

स्त्री पात्रलाई भने उपन्यासमा खासै ठुलो भूमिका दिएको देखिएको छैन । डुक्पाले मधेस (चारपाने बिर्तामोड) झरेर खलासी, ड्राइभर, प्रचारप्रसारका लागि भित्तामा राम्रो अक्षर लेख्ने कामदेखि माओवादीका सहयोगी जस्ता अनेक संघर्ष गरेको कथा जताततै वर्णन गरेका छन् तर सुक्मति जस्ता अन्य स्त्री पात्रले पूर्वी पहाडमा गर्ने सङ्घर्षलाई भने कमै मात्र देखाएका छन् ।

यहाँ अलिक अन्याय पो भयो कि पूर्वेली स्त्री पात्र माथि ? पूर्वका लिम्बुवानी समुदायमा विशेष गरी याक्थुङ लिम्बु परिवारमा पुरुष जतिकै हैकम स्त्रीले चलाउने गरेका छन् । त्यसैले भनिँदै पनि आइएको छ याक्थुङ लिम्बुहरू पितृसत्तात्मक सिद्धान्तबाट प्रेरित छन् ।

यसै मेसोमा ‘महाभारा’ उपन्यास पढिसकेका उत्तरवर्ती सोचका प्रवर्तक कवि राज माङ्लाक भाइसँग जिज्ञासा राखेँ, ‘केही नयाँ स्वाद पाइयो उपन्यासमा ?’ उनले तत्काल जवाफ फर्काए, ‘महाभारा उपन्यासले पूर्वी नेपालको लिम्बुवान क्षेत्रको कथा बक्छ र बग्छ तमोर जस्तै ।

पुस्तकले द्वन्द्वकलाको पहाडी जनजीवन, धार्मीकस्थल लारुम्बा र पूर्वी तराईका विभिन्न ठाउँमा घुमाउँछ । डुक्पा र सुक्मतीको कथा भन्ने काइदा पुस्तकको अर्को आकर्षण हो । पूर्वेली लवजले पाठकलाई अन्तसम्म तानिरहन्छ । भाषा स्वादिलो छ ।’

इटहरीका युवा साहित्यकार विवेक विवश रेग्मी भाइलाई पनि यस्तै जिज्ञासा राखेँ, ‘भाइ उपन्यास कस्तो लाग्यो ? त्यसभित्रको पात्र सँग आफ्नो पनि केही सम्बन्ध जोडिएको पाएको अनुभूत गर्यो ?’

जवाफमा उनले भने, ‘खाना बनाउने क्रममा किचनमा होस् वा सुत्ने समयमा बेडमा । मैले सर्सर्ती पढिसकिएका पुस्तकमध्येको एक हो, वसन्त बस्नेतको महाभारा ।’ उनले यतिमै कुरा रोकेनन्, ‘छोटो समयमै मैले बस्नेतको उपन्यास महाभारा पढेँ । उपन्यास भित्र लिम्बू गाउँको कथा, त्यसमाथि माओवादी युद्धको कथा । मलाइ त आफ्नै गाउँको कथाजस्तै लाग्यो ।

पुस्तकमा गाउँको रहनसहन, अर्ग्यानिक बोली, शब्द चयन पनि मिहिन ढङ्गले गरेको पाएँ । महाभारामा डुक्पा र सुक्मतीको प्रेम कथा पढ्ने क्रममा स्कुल सँगै पढेकी मगर्नीलाई पनि सम्झिएँ । विशेषतः पुस्तक पढिरहँदा मैले मेरो गाउँलाई मिस गरेँ । कतिपय पुस्तकमा दोहोर्याएर पढिएका वाक्यले लेखकले मन तान्छन् । जस्तै: भुइदलले केही भन्नुअघि नै डुक्पा आफैँले प्रस्ट पार्न खोज्यो- ‘सिस्टमले मानिलाई चोर बनाउँछ, चोर हुने लक्ष्य कसैको पनि हुँदैन ।’

उनले कवि राज माङ्लाकको कवितासंग्रह लिम्बू नि गाउँ र वसन्त बस्नेतको महाभारा पढिसकेपछि एक फेर तरेबा अर्थात्, पाहुना भएर कुनै दिन लिम्बू गाउँमा पुग्ने डुक्पा जस्तै भएर फर्किन मन लागेको पनि भन्न भ्याए ।

उपन्यासमा मुख्य पात्रहरूलाई माओवादी द्धन्दमा अरू नै बहाना गरेर मारिदिएको भए शायद यो उपन्यास कुनै फिल्म फ्लप भए झैँ हुन सक्थ्यो । तर त्यस्तो छैन संघर्ष नै सङ्घर्षमा पात्रहरू जेलिए पनि अन्ततः सुखान्तमा टुङ्गिन्छ । र, सेक्मुरी फुङको सुगन्धले पाठकलाई लठ्याउदै थप जिन्दगी जिउने लालसा मनभित्र पाल्न बाध्य बनाउँछ ।

mahabhara-3

प्रदिप मेन्याङ्बो