धरान : मोरङको धनपालथान गाउँपालिका-७ स्थित उखुबारीमा खाल्डो खनेर पुरिएकामध्ये एउटा शवको पहिचान भएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईका अनुसार आज उत्खनन गरी निकालिएको शव धरान उपमहानगरपालिका-३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको बताए । श्रेष्ठ भक्तपुरमा बस्दै आएको बताइएको छ ।

प्रहरीले उनको शवबाट नेपाल टेलिकमको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला पारेको छ । श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ। उनीसँग फेला परेको कागजातका आधारमा उनको परिवारसँग सम्पर्क गर्दा ३०-४० दिन देखि उनी सम्पर्कमा नभएको बताइएको छ। उनको परिवारलाई बोलाइएको प्रहरीले बताएको छ ।

बुधवार उत्खनन गरिएको अन्दाजी ३०/३५ वर्षका पुरुषको शव भने पहिचान भएको छैन । दुवै शवको प्रकृति एउटै भएका कारण अर्का व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।

बुधवार निकालिएको शवको हात डोरीले बाँधिएको र घाँटीमा पनि डोरीको डाम छ । उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए ।