विराटनगर : पाँचथर र झापामा बुधवार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ फुङसिङको कच्ची सडकमा राँकेबाट रवि तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ त ८५९५ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ७ मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टर चालक इलामको माङसेबुङ गाउँपालिका-३ का २१ वर्षीय रविन लिम्बुको घटनास्थलमा नै मृत्यु भएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय रबीबाट प्रहरी टोली खटी गई मृतकको शवको उद्धार गरेको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान गरिरहेको छ ।

यसै गरी झापाको मेचीनगर नगरपालिका-७ मा सोही नगरपालिकाको गाडी र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मेचीनगर नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडी र विपरीत दिशाबाट जाँदै गरेको मे ९ प ७९२७ नम्बरको मोटरसाइकल बुधवार साँझ ७ बजे एक आपसमा ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको झापाको बि.एन्ड.सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त दुर्घटनामा संलग्न सवारी र चालकलाई समेत नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।