धरान : धरान उपमहानगरपालिका क्षेत्रभित्र रहेका ऋण तथा बचत सहकारी संस्थाहरूलाई व्यवस्थित बनाउनका लागि उपमहानगरपालिकाले नियमन गर्ने भएको छ।

सहकारीको मान्यता अनुसार धरानमा वार्षिक साधारण सभा नभएका कारण बेथिति मौलाएको हो । केही सहकारीहरूको ठेगाना नभएको तर नगरपालिकामा दर्ता भएको सहकारी छन् । सहकारीको मूल्य, मान्यता र सिद्धान्त अनुसार धरानका सहकारीलाई व्यवस्थित बनाउनका लागि नियमन गर्न लागिएको बिहीबार बोधिचित्त बचत तथा ऋण सहकारी संस्था लि.ले आयोजना गरेको कार्यक्रममा उपमहानगरपालिकाले जनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मेयर तिलक राईले पछिल्लो समय धरानमा सहकारी संस्थाहरुले आर्थिक अनियमितता गरेको घटनाहरू बाहिरिन थालेको बताउँदै यसलाई बेलैमा व्यवस्थित गर्न नसके भोलि गएर ठुलो समस्या उत्पन्न हुनसक्ने बताए ।

मेयर राईले भने-'अहिले सहकारीहरू कसरी डुबिरहेको छ ? किन डुबिरहेको छ ? तपाईँहरूको पनि पैसा परेको होला । पछि तपाईहरुनै निवेदन लिएर नगरपालिकामा आउनुहुन्छ । मेरो पैसा त फलाना सहकारीमा राखेको थिए, उठाईदिनुपर्यो भनेर, त्यति बेला हामीले के गर्ने ? त्यस कारणले गर्दा अब उपमहानगरपालिकासँग जे व्यवस्था छ । त्यसलाई हामीले अनुगमन गर्नुपर्छ । नियमन गर्नुपर्छ । भएका सहकारीहरूलाई पनि व्यवस्थित गर्नुपर्छ ।’ धरानमा आवश्यक भन्दा धेरै सहकारीहरू भई सकेका छन् । त्यसको उपमहानगरपालिकाले पनि राम्रोसँग व्यवस्थापन गर्न सकिरहेको छैन ।

सहकारी व्यवस्थापक र सञ्चालकले पनि लुटी खाने भाँडो बनाएका छन् । गरिब जनताको पैसा उठाएर व्यक्तिगत रूपमा लगानी गरिरहेका कारण यस्तो समस्या सिर्जना भएको मेयर राईको भनाई थियो । मेयर राईले राजनीतिक दलहरूले पनि धरानमा सहकारी थप्न नहुने सुझाव दिई रहेको बताए । मेयर राईका अनुसार राजनीतिक दलहरूले धरानमा भएका सहकारी संस्थाहरूलाई मर्ज गरेर व्यवस्थित बनाउनुपर्ने सुझाव दिई रहेको बताए ।

उपमहानगरपालिकामा प्रत्येक हप्ता सहकारीले पैसा खाइदियो भनेर निवेदन परिरहेको मेयर राईले बताउँदै उनले भने, 'मैले जम्मा गरेको म्याद पुग्यो । त्यो सहकारीको सञ्चालक भाग्यो । पास बुक छ, पैसा दिँदैन भनेर धेरै वटा निवेदन परेको छ । यत्रो बेथिति भइरहेको छ । नयाँ सहकारी थप्ने हो कि, नथप्ने हो कि भनेर छलफल पनि भइरहेको छ। यस विषयमा उपमहानगरपालिका गम्भीर छ ।’ सहकारीको सम्बन्धमा उपमहानगरपालिकाले गरेको निर्णय दीर्घकालीन हुनुपर्ने मेयर राईको भनाई छ ।

मेयर राईसहित प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कार्यक्रममा उपस्थित भएका बोधिचित्त बचत तथा ऋण सहकारी संस्था लि.का प्रतिनिधिहरूलाई सहकारीमा सेयर कति राख्नुभएको छ ? बुझेर लगाउनुभयो कि, नबुझी सहकारीमा लगानी गर्नुभयो ? भनेर प्रश्न पनि गरे ।

सेयर सदस्यहरूले सहकारीका ‘प्रतिनिधिहरूले सेयर बढ्छ भनेर लगानी गरेको सुनाए ।’ उनीहरूले नगरपालिकाले सहकारीको नियमन तथा अनुगमनलाई तीव्र बनाउनुपर्ने सुझाव समेत दिए । धरानमा पछिल्लो समय सहकारीहरूमा बेथिति मौलाएको उनीहरूको पनि भनाई थियो ।

सहकारी शाखा प्रमुख भक्तिराज शर्माका अनुसार उपमहानगरपालिकामा ८८ वटा सहकारी संस्थाले दर्ता गराएको तथ्याङ्क छ । सहकारीले करिब १९ करोड रुपैयाँ हिनामिना गरेको उपमहानगरपालिकामा निवेदन परेको उनले जानकारी दिए । उनका अनुसार कतिपय सहकारीका सञ्चालकहरूले आफ्नो सम्पत्ति सकेर बचतकर्तालाई निल बनाएको अवस्था छ ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले आर्थिक सेवा सुविधाहरू सहर केन्द्रित भएको बताउँदै ग्रामीण अर्थतन्त्रमा टेवा पुगोस् भन्ने उद्देश्यले सरकारले सहकारी ऐन ल्याएको बताए । उनले सहकारी सञ्चालकहरूको बदनियतले बचतकर्ताहरूलाई समस्या परेको औँल्याए । पाँच हजार जनसङ्ख्या नपुगेसम्म सहकारी संस्था दर्ता गर्न नपाइने पनि जानकारी दिए । उनले धरानमा विगतमा जे जे कमजोरी भए अब त्यस्तो कमजोरीलाई सुधार गरेर लैजाने प्रतिबद्धता जनाए ।

२०७४ मा सङ्घीय सरकारले सहकारी ऐन बनाएको हो । धरान उपमहानगरपालिकाले पनि २०७५ मा सहकारी ऐन बनाएको छ । कार्यक्रमका सभाध्यक्ष समेत रहेका बोधिचित्त बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार लोकबहादुर थिङले सहकारीहरू बजार केन्द्रित भएको भन्दै सहकारी दर्ताको स्वीकृति गरिदिन आग्रह गरेका थिए ।