इटहरी : प्रथम सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि पूर्वाञ्चल युनाइटेड क्लब सुन्दरहरैचाले जितेको छ।

आज सोमबार सम्पन्न फाइनल खेलमा आयोजक मेमोरी युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै पूर्वाञ्चल युनाइटेडले उपाधि जितेको हो। उपाधिसँगै पूर्वाञ्चलले नगद १ लाख रुपैयाँ र शिल्ड हात पारेको छ भने उपबिजाते आयोजक मेमोरी युवा क्लबले नगद ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ।

सुनसरीको दुहबी-८ सोनापुरमा आयोजित प्रतियोगिता अन्तर्गत आज सोमबार भएको फाइनल खेलमा निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले २-२ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो ।

पेनाल्टीमा आयोजक क्लबको तर्फबाट उमेश कार्की, विवेक पौडेल र दिपेश माझीले मात्र गोल गर्न सकेका थिए । विक्रम राईको प्रहार युनाइटेडका गोल किपर रोशन कार्कीले बचाएका थिए भने सुबोध शाहीको प्रहार बाहिरिएको थियो। पूर्वाञ्चलका मिलन राई, सन्देश श्रेष्ठ, असीम राई र सुजन चौधरीले गोल गर्न सफल हुँदा आयोजक उपबिजेतामै सीमित बन्यो ।

त्यसअघि खेलको १२ औ मिनेटमा आयोजकका पारस लिम्बुले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ३५ औ मिनेटमा पूर्वाञ्चलका सुजन चौधरीले गोल गरेर खेल १-१ को बराबरीमा ल्याए । खेलको ५५ औ मिनेटमा आयोजकका राजु लिम्बुले गोल गरेर पुनः आफ्नो टिमलाई २-१ को अग्रतामा पुर्‍याएको अवस्थामा त्यसको ५ मिनेट नबित्दै पूर्वाञ्चलका अरुण लिम्बुले गोल गरी खेललाई २-२ को बराबरीमा पुर्‍याए ।

त्यसपछि दुवै टिमबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो।
फाइनल खेलको म्यान अफ द म्याच पूर्वाञ्चल युनाइटेडका मिलन राई घोषित हुँदै नगद २ हजार पाए।

प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक मेमोरी युवा क्लबका उमेश कार्की घोषित हुँदै नगद ५ हजार रुपैयाँ पाए । वेस्ट गोलकिपर पूर्वाञ्चलका रोशन कार्की, मिडफिल्टर विवश गुरुङ, कोच पवन प्रधान घोषित भए।

आयोजकका बिकु राई वेस्ट डिफेन्स, सुजित चौधरी राइजिंग प्लेयर घोषित भए। उनीहरू सबैले जनही ३ हजार ५ सय रुपैयाँ पाए। प्रतियोगितामा हाईस्कोर गर्ने पूर्वाञ्चलका अभिषेक कालिकोटे र डागीहाट फुटबल क्लबका आदर्श लिम्बुले जनही ४ हजार रुपैयाँ पाए । सुनसरी र मोरङका ८ टिम सहभागी गोल्डकप पुस २६ गते देखी सुरु भएको थियो।