इटहरी : तरहरामा भएको एक दिवसीय व्याटमिन्टन प्रतियोगितामा धनबहादुर पुरी र सञ्जीव राईको टिम विजयी भएको छ । शनिवार सम्पन्न प्रतियोगितामा टिम ए का पुरी र राईको टिम विजयी भएको हो ।

याम राई र र नवराज बस्नेतको टिमलाई पराजित गर्दै पुरी र राईको टिमले जित हासिल गरेको छ । सिटिजन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड तरहरा शाखाको आयोजनामा भएको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।

माघेसक्रान्तीको विशेष प्रतियोगिता भारतीय लाहुरे हनेरी क्याप्टेन दिलप्रसाद राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उमेरले ६३ वर्ष पुगेका राई आफै व्याटमिन्टन खेलाडी हुन् ।

विजयी भएसँगै पुरीले खेल ऊर्जाको श्रोत भएको बताएका छन् । पत्रकारिता पछि राजनीतिमा उदाएका उनी व्याटमिन्टन खेलमा समेत उत्कृष्ट बन्दै गएका छन् । पराजयले पनि ऊर्जा दिने राजनीति र खेलको समान विशेषता रहेको उनले बताए । खेलमा सहभागी भए पनि विजयी नभए पनि धेरै कुरा सिकिन्छ जुन राजनीतिमा पनि लागु हुने पुरीको भनाई छ ।

शरीर पनि फुर्तिलो हुने र आकर्षक खेल पनि भएकाले आफू व्याटमिन्टन खेलाडी भएको उनले प्रष्ट पारे । ब्याडमिन्टन युवादेखि पाका उमेरका खेलाडीले समेत खेल्न सक्ने भएकोले पछिल्लो समय लोकप्रिय बन्दै गएको उनको बुझाई छ।