धरान : २२ औँ संस्करणको अन्तर वडा स्तरीय गोधुली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि धरान १६ ले जितेको छ ।

आज धरान रंगशालमा भएको फाइनल खेलमा वडा नं. १३ लाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै १६ नम्बर वडाले उपाधि जितेको हो । उपाधिसँगै १६ नं. वडाले नगद १ लाख ५० हजार पुरस्कार समेत जितेको छ । त्यस्तै गरी विधागत उपाधिमा पनि १६ नं. वडा अगाडी रह्यो ।

उप-विजेता भएको १३ नं. वडाले नगद ७५ हजार पुरस्कार जितेको छ । प्रतियोगिताका विजेता तथा उप विजेता टिमलाई वडा नं. १८ का वडाध्यक्षले थप २५/२५ हजार पुरस्कार प्रदान गरे । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा १६ नम्बर वडाका प्रविन भुजेल, मनिष बस्नेत, शैलेन्द्र नेपाल र खुशीमान लिम्बूले गोल गरेका थिए भने सरोज लकान्द्री गोल गर्न चुकेका थिए । टाइब्रेकरमा १३ नम्बर वडाका दोर्जे तामाङ, निश्चल श्रेष्ठ र मन्दिप राईले गोल गरेका थिए भने मिलन लिम्बू र अशोक कटवाल गोल गर्न चुकेका थिए ।

गत वर्ष टाइब्रेकरमा नै १४ नं. वडासँग पराजित हुँदै उपविजेतामा सीमित भएको १६ नम्बर वडाले यस वर्ष उपाधि जितेको छ । १६ नम्बर वडाका टिम मेनेजर श्यामकुमार लिम्बूले खेलाडीहरूले अन्तिम सम्म मेहनतपूर्वक खेलेकोले जित हात पारेको बताए । १३ नम्बर वडा हामी भन्दा बलियो भए पनि रक्षात्मक भएर खेललाई टाइब्रेकरमा पुर्याउने आफ्नो रणनीति सफल भएको लिम्बूले बताए ।

विधागत पुरस्कारमा समेत १६ नम्बर वडा अगाडी देखिएको छ । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी १६ नम्बर वडाका जलन तुम्वापो लिम्बू घोषित भएका थिए । उनलाई नगद १५ हजार र ट्रफिले पुरस्कृत गरिएको थियो । प्रतियोगिताको उच्च गोलकर्ता १६ नम्बर वडाका सरोज लकान्द्री रहेका थिए । उनलाई नगद ७ हजार ५ सय सहित ट्रफि पुरस्कार प्रदान गरिएको थियो ।

खेलको म्यान अफ द म्याच १६ नम्बर वडाका मनिष बस्नेत घोषित भए । प्रतियोगिताको वेस्ट गोल किपर १६ नम्बर वडाका ऋतेष निरौला घोषित भए भने प्रतियोगिताको वेस्ट कोच १६ नम्बर वडाका दिवस मगर घोषित भए । उनीहरूलाई ट्रफि तथा नगद ५ हजार ५ सय पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताको वेस्ट डिफेन्स १३ नम्बर वडाका निश्चल श्रेष्ठ घोषित भए भने वेस्ट स्ट्राइकर १३ नम्बर वडाकै मिलन लिम्बू घोषित भए । त्यस्तै १३ नम्बर वडाका विवेक राई प्रतियोगिताको वेस्ट मिडफिल्डर घोषित भएका थिए । उनीहरूलाई ट्रफि तथा नगद ५ हजार ५ सय पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताको उदयिमान खेलाडी १७ नं. वडाका सुवल राई घोषित भए । उनलाई नगद ५ हजार ५ सय र ट्रफिले पुरस्कृत गरिएको थियो । प्रतियोगिताका विजेता टिमलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई लगायत अतिथिहरूले पुरस्कार वितरण गरेका थिए ।

पत्रकार रोहित राई र खेलाडी विष्णु सुनार पुरस्कृत
गोधुली क्लबका संस्थापक तथा वडा स्तरीय प्रतियोगिताको परिकल्पनाकार स्व. सुवास राईको स्मृतिमा स्थापना गरिएको सुवास राई स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार रोहित राईलाई सम्मान गरिएको छ ।

Puraskrit 1

पत्रकार रोहित राई नागरिक दैनिक धरानका संवाददाता एवं क्लिक धरान डटकमका सम्पादक हुन् । उनलाई धरानको पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुरस्कृत गरिएको हो ।

यसै गरी गोधुली क्लबका पूर्व खेलाडी विष्णु सुनारलाई पनि पुरस्कृत गरिएको छ । गोधुली क्लबका उत्पादन रहेका सुनारले ए डिभिजन क्लबमा फुटबल खेलेर गोधुली क्लब तथा धरानको नाम उच्च राखेको भन्दै पुरस्कृत गरिएको हो । उनलाई नगद २० हजार सहित पुरस्कार प्रदान गरिएको थियो ।