इटहरी : प्रथम सोनापुर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक मेमोरी युवा क्लब र पूर्वाञ्चल युनाइटेड बिच प्रतिस्पर्धा हुने भएको छ ।

सुनसरीको दुहबी-८ सोनापुरमा जारी प्रतियोगिता अन्तर्गत आज शनिवार भएको दोस्रो सेमिफाइनल खेलमा मोरङ बिराटचौकको एकता युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधि भिडन्त पक्का गरेको हो ।

आयोजक क्लबलाई उपाधि नजिक पुर्‍याउन खेलको ७० औ मिनेट कुशल राईले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच आयोजक क्लबका मिडफिल्डर उमेश कार्की घोषित हुँदै नगद २ हजार रुपैयाँ पाए ।

फाइनल खेल सोमबार हुने मेमोरी युवा क्लबका सचिव पञ्चनारायण चौधरीले बताए । यसअघि पहिलो सेमिफाइनल खेलमा डागीहाट फुटबल क्लबलाई सडेनडेथमा पराजित गर्दै पूर्वाञ्चल युनाइटेड फाइनल प्रवेश गरिसकेको छ । प्रतियोगितामा उपाधि विजेताले नगद १ लाख र उपबिजेताले ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।