धरान :  २२ औँ संस्करणको गोधुली फुटबल रनिङ कपको फाइनलमा धरान वडा नं. १६ र १३ भिड्ने भएका छन् ।

आज भएको सेमिफाइनल खेलमा जित हात पार्दै दुवै टोलीले फाइनलको यात्रा तय गरेका हुन्। धरान रङ्गशालामा सम्पन्न पहिलो सेमिफाइनलमा १६ नं. वडाले १४ नं. वडालाई २-१ गोल अन्तरले पराजित गर्दै १६ नं. वडा फाइनलमा प्रवेश गरेको हो ।

अघिल्लो संस्करणको फाइनलमा १४ नं. वडाले १६ नं. वडालाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो । १६ नं. वडाले गत वर्ष फाइनलमा बेहोरेको हारको बदला समेत लिएको छ ।

१६ नं. वडाकालागी शैलेन्द्र नेपाल र जमिन लिम्बूले एक एक गोल गरे । नेपालले दोस्रो हाफको २३ औँ मिनेटमा गोल गरेका थिए भने लिम्बूले ३४ औँ मिनेटमा गोल गरेका थिए । १४ नं. वडाकालागी विपिन श्रेष्ठले गोल फर्काएका थिए ।

खेलको म्यान अफ द म्याच १६ नं. वडाका शैलेन्द्र नेपाल घोषित भए । उनलाई नगद २५ सय पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै आज भएको दोस्रो सेमिफाइनल खेलमा १३ नं. वडाले ८ नं. वडालाई २-० गोल अन्तरले पराजित गरेको छ । १३ नं. वडाका लागी अशोक कटवाल र दोर्जे तामाङले गोल गरेका थिए ।

विपक्षी खेलाडी डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीमा तामाङले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच १३ नं. वडाका दोर्जे तामाङ घोषित भए । उनलाई नगद २५ सय पुरस्कार प्रदान गरिएको थियो ।

भोलि फाइनल खेल वडा नं. १३ र १६ बिच धरान रङ्गशालामा ठिक १ बजे हुने आयोजक गोधुली क्लबले जनाएको छ ।

प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेतालाई नगद १ लाख ५० हजार र उपविजेतालाई ७५ हजार प्रदान गरिने छ ।