धरान : धरानमा केन्द्रीय कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैङ्कले १६ औँ साधारण सभा सम्पन्न गरेको छ। बैङ्कले साधारण सभाबाट १४ प्रतिशत लाभांश दिने घोषणालाई पारित गरेको छ।

सुनसरी उद्योग वाणिज्य सङ्घ धरानको सभाहलमा आयोजित साधारण सभामा गत वर्षको मुनाफाबाट १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७० प्रतिशत कर प्रयोजनार्थ लाभांश दिने घोषणा बुधवार पारित गरिएको हो।

पारित गरिए अनुसार बोनस शेयरबापत हुने १० करोड ६० लाख ५१ हजार १ सय ३२ रुपैयाँ ६९ पैसा र कर प्रयोजनार्थ ५५ लाख ८१ हजार ६ सय ३८ रुपैयाँ ५६ पैसा लाभांश वितरण गरिएको प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वस्तीले जानकारी दिए। उनका अनुसार बैङ्कले गत आर्थिक वर्षमा १४ करोड ५६ लाख ४७ हजार ८ सय ४० रुपैयाँ मुनाफा गर्न सफल भएको थियो। बैङ्कले ५ अर्ब ४९ करोड २० लाख ४९ हजार १ सय २० रुपैयाँ बचत गरेको छ। ऋणतर्फ ४ अर्ब ९४ करोड ९४ लाख ९१ हजार सात सय ७० रुपैयाँ लगानी गरेको छ।

यसैबिच सर्वसाधारणका तर्फबाट सञ्चालक समितिको निर्वाचनले शम्भुप्रसाद श्रेष्ठ, ललितकुमार अग्रवाल र बन्दा वैद्यलाई निर्विरोध निर्वाचित गरेको छ। हरेक चार/चार वर्षमा सञ्चालक समितिका पदाधिकारी चयन गर्ने प्रक्रिया रहेको छ। संस्थापकतर्फ भने अर्को वर्ष पदाधिकारी चयन गरिँदै छ। कुल ७ सदस्यीय सञ्चालक समिति हुने प्रावधान छ। तीन जना सर्वसाधारण र तीन जना संस्थापक साथै एक जना स्वतन्त्रबाट समितिमा ल्याउने प्रावधान रहेको छ।

बैङ्कले राष्ट्र बैङ्कको नीतिलाई अख्तियार गर्दै मर्जर नीतिलाई पनि अगाडि सारेको छ। त्यसका लागि सञ्चालक समिति र मर्जर समितिलाई जिम्मेवारी दिइएको छ। अन्य बैङ्क तथा वित्तीय संस्थाहरूसँग गाभ्ने र गाभिनेसम्बन्धी सम्पूर्ण जिम्मेवारी सञ्चालक समिति र मर्जर समितिलाई दिने प्रस्ताव नै गरिएको अध्यक्ष किशन मास्केले जानकारी दिए। बैङ्कको सुनसरी, मोरङ, झापा, उदयपुर र धनकुटामा जम्मा १८ बटा शाखा रहेका छन् ।

Miteri AGM 16th