धरान : नेपाली साङ्गीतिक जगतमा आफ्नो पहिचान बनाइसकेकी गायिका शिवानी मोक्तानले शुक्रवार साँझ बगरकोट तताएकी छिन् ।

साँझ ९ बजे एमएच लाउन्ज एण्ड बारको स्टेजमा उत्रिएकी मोक्तानले साढे दश बजे सम्म धराने दर्शकलाई नचाएकी थिइन् । खुकुरी म्युजिक नेसनको सहयोगमा उनलाई एमएच लाउन्जले बगरकोट ल्याएको हो ।

गायिका शिवानीलाई प्रस्तुति अघि एमएच लाउन्जका सञ्चालक एवं बगरकोट होटल व्यवसायी मञ्चका अध्यक्ष जीवन मेन्याङ्बोले खँदा लगाएर स्वागत गर्दै मायाको चिनो समेत प्रदान गरेका थिए । नाइट लाइफको बजारमा पूर्वमा नै चर्चित बन्दै गइरहेको बगरकोटमा राष्ट्रिय कलाकारको उपस्थितिले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने मेन्याङ्बोले बताए ।

दर्शकहरूको लामो पर्खाई पछि स्टेजमा उपस्थित भएकी गायिका शिवानीले डेढ घण्टा प्रस्तुति दिएकी थिइन । उनले आधा दर्जन भन्दा बढी नयाँ पुराना गीत प्रस्तुत गरेकी थिइन । पछिल्लो समय माया हो बोलको गीत मार्फत चर्चाको शिखर चुमेकी गायिका शिवानीले आफ्नो गीत तिमी बिनाको बोलको गीत गाउँदै माहौल तताएकी थिइन । उनले माहौल तातिएपछि भने आफ्नो आमा कुन्ती मोक्तानको गीत समेत प्रस्तुत गरेकी थिइन ।
उनले दर्शकहरूको अनुरोधमा अन्य गीतको कभर समेत गाउँदै दर्शकलाई नचाएकी थिइन । मोक्तानलाई उनीसँगै आएका अन्तरा ब्यान्डले साथ दिएको थियो । धरान हुँदै अब काठमाडौँ र पोखरामा कार्यक्रम रहेको आर्बिटरी इभेन्ट म्यानेजमेन्टका डाइरेक्टर अविरल शाक्यले जानकारी दिए । कार्यक्रमको इभेन्ट म्यानेजमेन्ट आर्बिटरिले गरेको हो ।