धरान : धरानमा गर्माएको साङ्गीतिक माहौललाई अझ सङ्गीतमय बनाउन युवापुस्ताका तीन लोकप्रिय गायक गायिकाहरू एकदेव लिम्बु, रचना रिमाल र अस्मिता अधिकारी आउँदो पौष २४ गते शनिवार धरानमा आयोजना हुने 'नेपाल आइस मनोरञ्जन धमाका २०२२' मा आफ्नो प्रस्तुति दिन आउने भएका छन्।

धरानको पब्लिक हाई स्कुलको मैदानमा साँझ साढे पाँच बजे देखि आयोजना हुने म्युजिकल कन्सर्टको लागि तिनै जना कलाकारहरू पहिलो पटक धरान आउने भएको हुन्। आँखामा आउने सपनी, ब्ल्याक एण्ड व्हाईट, मन्द-मन्द, क्या राम्री, तिम्रो मुटुमा, लौ कान्छी, मेरी सानु, शिर फुल जस्ता थुप्रै लोकप्रिय गीतहरू एकदेव लिम्बुले गाइसकेका छन्।त्यस्तै नेपाल आइडल सिजन-२ को थर्ड रनर अप अस्मिता अधिकारी पनि अहिले आधुनिक, पप तथा फिल्मी गीतहरूमा निक्कै नै लोकप्रिय छिन्।

उनको तिम्रो मायाले बाँधेर राख, टाढा भए पनि, साली मन पर्‍यो, लज्जावती झार झैँ, को होला त्यो, फल्र्टी माया, सिमसिमे पानी जस्ता थुप्रै हिट गीतहरू रहेका छन्। उनको भर्खर रिलिज भएको काफल खाने कुइंया बोलको गीत रिलिज भएको एक हप्ता देखि अहिले सम्म युट्युबको ट्रेन्डीङ्गमा रहेको छ। नेपाल आइडल सिजन ३को टप आठसम्म पुगेकी रचना रिमाल पनि अहिलेको चर्चित गायिका मध्ये एक पर्छिन्। उनको फोटो फिरिममा, उनको प्रीत, एक चिम्टी सिन्दूर, काफल गेडी, रुमाल चिनो, छुक छुक रेल जस्ता थुप्रै गीतहरू चर्चित छन्। एक समय चटपटे वाली गायिका को रूपमा समेत भाइरल बनेकी गायिका रचना रिमालका प्रत्येक अन्तर्वार्ता समेत उनको सोझो जवाफले भाइरल हुने गर्छन्।

तिनै चर्चित कलाकारहरूलाई सिल्भर इन्टरटेनमेन्टले पहिलो पल्ट धरानमा आयोजना हुने भव्य कन्सर्ट नेपाल आइस मनोरञ्जन धमाका २०२२ मा एक साथ उतार्दै छन्। कार्यक्रममा विभिन्न आकर्षक डान्स प्रस्तुति समेत राखिएको छ। नेपाल आइस् बियरको मुख्य प्रायोजन तथा डिभाइन वाइन प्रिमियमको सह (प्रायोजन रहेको भव्य कन्सर्टमा ब्ल्याक पिग इन्टरटेनमेन्ट,एनएचडीडी स्टुडियो, जेन्टलमेन अनलाइन टिभी , बराह ग्रुप ,एसपी इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट र लोक जगत मोटर्सको विशेष सहयोग रहेको कन्सर्टको गेट टिकट रु २०० मात्र राखिएको छ।

भव्य साउण्ड र लाइट सहितको कन्सर्टको लागि अहिले प्रचार प्रसार तीव्र रूपमा गरिएको छ। धराने दर्शकहरूले लामो समय पछि नयाँ चर्चित अनुहार सँगै नयाँ स्वरमा आफ्ना मन पर्ने गीतहरू प्रत्यक्ष सुन्न पाउनेछन्।