धरान : गीतकार तथा सङ्गीतकार उमेश रेग्मीले भारतीय गायिका सञ्जीवनीको आवाजमा रहेको नयाँ गीत प्रिय तिम्रो तस्बिर कोर्न लाग्छ आफ्नो युट्युब च्यानल गोत्र इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरेका छन्।

पुरानो हुदैंन माया, डाँडा पाखा छहराले, पानी मिठो मेरो हजुर जस्ता सदाबहार नेपाली गीतकी गायिका सञ्जीवनीको लामो समयको अन्तराल पछि नयाँ नेपाली गीत सार्वजनिक भएको हो । गीतकार तथा सङ्गीतकार उमेश रेग्मीको भावलाई गायिका सञ्जीवनीले आफ्नो आवाजको जादुले अझ कर्णप्रिय बनाई दिएकी छिन्।

उनको पुरानो गीतहरू झैँ यो गीत पनि युग युगसम्म सुनिने गीतहरूको श्रेणीमा पुगेको छ। देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको गीतकार तथा सङ्गीतकार उमेश रेग्मीको यो गीत उनको उत्कृष्ट सृजना बन्न पुगेको छ। म्युजिक भिडियो सहित सार्वजनिक गरिएको गीतको भिडियोको निर्देशन सोनम पाख्रिन, छायाङ्कन बुद्ध थापा, सम्पादन सुशील न्यौपानेले गरेका छन् भने स्मृति श्रेष्ठ र कमल सिंहको अभिनय भिडियोमा हेर्न सकिन्छ।