धरान : हङकङ नेपाली महासङ्घको ११ औँ महाधिवेशनबाट अध्यक्षमा रिता गुरुङ निर्वाचित भएकी छन् । हङकङ नेपाली महासङ्घको आइतबार सम्पन्न ११ औ महाधिवेशनले तीन बर्से कार्यकालकालागि गुरुङलाई निर्वाचित गरेको हो। महासङ्घ हङकङमा बस्ने नेपालीहरूको विभिन्न सङ्घसंस्थाहरूको साझा छाता सङ्गठन हो ।

नवनिर्वाचित गुरुङ सन १९९७ मै हङकङ प्रवेश गरेपछि स्याङ्जाली गुरुङहरूको संस्था तमु टो युल हङकङमा आबद्ध हुँदै जनजाति महासङ्घ हङकङको उपाध्यक्ष, त्यसपछि अध्यक्ष, एनआरएनमा सदस्य, हङकङ नेपाली महासङ्घमा महासचिव, उपाध्यक्ष र अध्यक्ष भइसकेकी गुरुङ फेरि अध्यक्षमा निर्वाचित भएकी हुन् । हङकङको समाज सेवामा सक्रिय रहेकी गुरुङ हाल हङकङ सरकारको गृह मामिला विभाग अन्तर्गत रहेको प्रमोशनल अन र्यासनल हारमोनी कमिटी सदस्य, कम्युनिटी सपोर्ट टिम फर नेप्लीज कम्युनिटीको इन्चार्ज समेत हुन् ।

महाधिवेशनमा २८ मत प्राप्त गर्दै रिता गुरुङ अध्यक्षमा निर्वाचित भइन भने अध्यक्षका अर्का प्रत्याशी टङ्क रानाले १७ मत प्राप्त गरेका थिए । त्यस्तै गरी मतदान प्रक्रिया मार्फत नै महासचिवमा हेम थापा र सचिवमा सन्जोग राई निर्वाचित भए भने उपाध्यक्षमा नवीन सुहाङ र कोषाध्यक्षमा निल कुमार वाइबा निर्विरोध चयन भएका थिए ।

महाधिवेशनका सभापति टङ्क राणाद्वारा कोरोनाको महामारी बिच पनि आफ्नो कार्यकाललाई सफल बताउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने सङ्घसंस्था तथा व्यक्तिहरू प्रति धन्यवाद सहितको मन्तव्य राख्दै कार्य समिति भङ्ग भएको घोषणा गरेसँगै सुरु भएको बन्द सत्रमा निवर्तमान महासचिव नवीन सुहाङले आफ्नो ३ वर्षे कार्यकालको गतिविधिहरू प्रस्तुत गरेका थिए । कोषाध्यक्ष ताहिर खानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले अरू अल्पसङ्ख्यक समुदायलाई सरकारले सामुदायिक भवन उपलब्ध गराएको तर नेपाली समुदायको नभएकाले ध्यानाकर्षण गराउने काम पहिले गर्ने बताइन् । उनले भनिन्, ‘भाषाको कारण सरकारी जागिर नपाउँदा केही फरक पर्दो रहेछ । त्यसैले सरकारी स्तरका जागिरको व्यवस्था गर्न पनि मागलाई निरन्तरता दिने छु । त्यस्तै अरू मुलुकका नागरिकले वैदेशिक रोजगारी गर्न पाएका छन्, डोमेस्टिीक भिसा पनि पाएका छन् । नेपालीहरूका लागि पनि खुलाउन महासङ्घले निरन्तर जोड गरिरहेको छ । पछिल्लो समयमा सरकारले पनि सकारात्मक भएको प्रत्युत्तर लिखित रूपमै दिएको छ । महासङ्घले त्यसैलाई ‘फलोअप’ गर्ने छ ।’

खुल्ला सत्र कार्यक्रममा प्रमुख अतिथि नेपाली महावाणिज्यदूत उदयबहादुर राना तथा विशेष अतिथिहरूमा एनआरएनएका अध्यक्ष गोकर्ण ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डासुराम पराजुली, महासङ्घका सल्लाहकारहरू हेजेन राई, रिता गुरुङ, प्रदीप थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विधानअनुसार ३३ वटा विभिन्न सङ्घसंस्थाका दुई जनाका दरले मतदाता प्रतिनिधिहरूको सहभागिता रहेको महासङ्घको महाधिवेशनमा प्रमुख पदमा सहमति जुट्न नसकेपछि निर्वाचनमा धकेलिएको थियो । निवर्तमान अध्यक्ष टङ्क राना र पूर्व अध्यक्ष रिता गुरुङ बिच चुनाव हुँदा गुरुङले २८ मत ल्याएर विजयी भएका थिए भने रानाले १७ मतप्राप्त गरेर पराजित भएका थिए ।

पछिल्लो समयमा हङकङमा नयाँ सुरक्षा कानुन लागु भएयता महासङ्घको यो पहिलो महाधिवेशन हो । महासङ्घले हङकङ परिचयपत्र वाहक नेपालीको आर्थिक, सामाजिक, स्वास्थ्य, शिक्षा र रोजगारको विविध पक्षमा वकालत गर्दै हङकङ सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । महासङ्घले सरकारसँग मिलेर लागु औषध सम्बन्धी जनचेतनामूलक ‘विओन्ड रिच इन्फरमेशन एण्ड प्रिभेन्सन’ प्रोजेक्ट मार्फत नेपाली समुदायलाई विभिन्न सेवाहरू दिँदै आएको छ ।

महासङ्घको अध्यक्षमा निर्वाचित भएपछि फोन सम्पर्कमा गुरुङले भनिन्, ‘हङकङमा अल्पसङ्ख्यक नेपाली समुदायको धेरै समस्या छन् । ती समस्या समाधान गर्न हङकङ सरकारलाई यसअघिका पूर्ववर्ती पदाधिकारीहरूले ध्यानाकर्षण गराउँदै आएका थिए । महासङ्घले त्यसैलाई निरन्तरता दिने छ ।’ उनले लोकतान्त्रिक पद्धतिअनुसार चुनाव भएको र त्यसमा साथीहरूले आफूलाई निर्वाचित गरे पनि पराजित भएका निवर्तमान अध्यक्ष टङ्क राना अग्रज भएकाले महासङ्घले गर्ने काम मिलेर नै गर्ने बताइन् ।