धरान : बिहीबार साँझ धरान-१५ बाझगरामा रहेको अस्थायी प्रहरी चौकीमा दुई जना युवा आफूलाई धम्की आएको भन्दै उजुरी गर्न पुगे।

उनीहरू भित्र पुग्ने बित्तिकै मास्कधारी एउटा युवाहरूको समूह प्रहरी चौकीमा पुग्यो । भित्र पस्यो र अन्धाधुन्ध खुकुरी प्रहार गरे । उनीहरूले त्यहाँ आइपुगेको दुई युवालाई खुकुरी प्रहार गर्दा चौकीका प्रमुख असई सुमन दाहालले रोक्न खोज्दा उनी काटिन पुगे ।

उनीसँगै प्रहरी हवलदार विजय यादव र प्रहरी जवान अरुण राजवंशी सामान्य घाइते भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भिमराज राईले जानकारी दिए । असई दाहालको देब्रे हातमा गम्भीर चोट लागेकोले उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

अन्धाधुन्ध खुकुरी प्रहार गर्ने युवाहरू प्रहरी चौकीमा दुई युवालाई खोज्दै मोटरसाइकलमा आइपुगेका थिए । ४ जना मात्रै प्रहरी रहेको चौकीबाट उनीहरू तोडफोड गर्दै सजिलै फरार भए । उनीहरूले चौकीको झ्यालको सिसा फुटाएका छन् । प्रहरीले आक्रमण गर्नेलाई भने यो समाचार तयार पारुन्जेल सम्म पक्राउ गर्न सकेको छैन ।

आफूहरूलाई धम्की दिएको भन्दै प्रहरी चौकी पुगेका दुई जनालाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । प्रहरी निरीक्षक राईका अनुसार अहिले फरार भएकाहरूको खोजी र अनुसन्धान धरान प्रहरीले सुरु गरेको छ ।

कोरोना महामारीसँगै जोखिममा रहेका प्रहरी मथिनै यसरी आक्रमण हुनु गम्भीर भएको बताइएको छ । निषेधाज्ञाको समयमा पनि सवारी साधन चलाउनु र यसरी आपराधिक गतिविधि गर्दै हिडने समूहका कारण धरानमा आपराधिक गतिविधि बढेको आकलन गर्न सकिन्छ ।

Todfod 1