झापा : झापामा पत्रकाहरुमाथि शृङ्खलाबद्ध आक्रमण हुन थालेको छ ।

न्यूज २४ टेलिभिजनका झापा संवाददाता राजु पौडेल, झापाका पत्रकार नारायण अर्याल, माउन्टेन टेलिभिजनका पत्रकार खगेन्द्र घिमिरे र क्यामरा पर्सन भास्कर श्रेष्ठमाथि फरक फरक स्थानमा फरक फरक समयमा आक्रमण भएको छ ।

यस घटनालाई लिएर नेपाल पत्रकार महासङ्घ र पत्रकार जन्य सङ्घ सङ्गठनहरूले भर्त्सना गरेका छन् । अनुसन्धान अनलाइन टिभीका सम्पादक तथा माउन्टेन टेलिभिजनका संवाददाता खगेन्द्र घिमिरे, क्यामेरा पर्सन भास्कर श्रेष्ठलाई मालपोत कार्यालय दमकमा मंगलबार र न्युज २४ का झापा सम्वाददाता राजु पौडेल र पत्रकार नारायण अर्यालमाथि भद्रपुर भन्सारका कर्मचारी र व्यापारीले गरेको कुटपिट र दुर्व्यवहारप्रति नेपाल पत्रकार महासङ्घ झापा शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार अपराह्न लगभग ४ बजे मालपोत कार्यालय दमकमा शिवसताक्षीका सेवाग्राही सुरेश साहले कर्मचारी इन्द्र राजवंशीलाई दश हजार रुपैयाँ घुस दिएको भिडियो खिचिरहेको अवस्थामा लछारपछार गर्दै कार्यालय प्रमुखको कार्यकक्षमा लगी पत्रकार घिमिरे, क्यामेरा पर्सन भास्कर श्रेष्ठ र सेवाग्राही साहलाई हुल हुज्जत गरी क्यामेरा खोस्ने र कुटपिट गरेको घटनाको नेपाल पत्रकार महासङ्घ झापा शाखा लगायतका सङ्घ सङ्गठन घोर निन्दा र भर्त्सना गरेको हो ।

यस विषयलाई लिएर आज दमकस्थित इलाका प्रहरी कार्यालय र पत्रकार मञ्च दमकमा विभिन्न चरणमा छलफल समेत भएको थियो ।

यसैगरी गत मङ्सिर १२ गते भद्रपुर भन्सार कार्यालयका कर्मचारी डोरराज सुनुवार र भद्रपुरका व्यापारी सुबोध कोठारीले भन्सार छली सम्बन्धी रिपोर्ट प्रसारण नगर्न दबाब दिँदै दिएको पचास हजार घुस अस्वीकार गर्दा लछारपछार गर्दै कुटपिट गर्ने र क्यामेरा खोस्ने जस्ता हर्कत भएको थियो ।

महासंघद्वरा जारी विज्ञप्तिमा यी सबै घटनामा संलग्नलाई अविलम्ब कारबाही गर्न माग गरिएको छ । प्रशासनले यी घटनालाई गम्भीर रूपमा नलिए र दोषीलाई कारबाहीको दायरामा नल्याए महासङ्घ कडा आन्दोलनमा उत्रने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Jhapa-patrakar-sangh