धरान : धरान २ स्थित शिक्षा निकेतन माविको थप निर्माणहुने भवनको माथिल्लो तलाको भवनको शिलान्यास बुधवार भएको छ ।

सङ्घीय सांसद जयकुमार राईको प्रमुख अतिथि,प्रदेश सांसद उमिता बराइली, धरानका मेयर तिलक राई र उपमेयर मञ्जु (भण्डारी) सुवेदीको विशिष्ट अतिथ्यतामा विद्यालयमा थप निर्माण हुने दुई तले भवनको शिलान्यास गरिएको हो ।

तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत सुनसरी क्षेत्र नं. १ का सङ्घीय सांसद राईको पहलमा ३० लाखको सहयोग भएको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सांसद जयकुमार राईले विद्यालयको शैक्षिक विकासका लागी सङ्घीय सरकारले प्राविधिक शिक्षा र व्यवहारिक शिक्षाको विकास गर्न सरकारले योजना बनाएर आर्थिक  सहयोग गरिरहेको बताए ।

विशिष्ट अतिथि मेयर राईले गुणस्तरीय शिक्षामा जोडदिनु पर्ने बताउँदै स्थानीय सरकारले समेत सहयोग गर्ने आश्वासन दिए ।

प्रधानाध्यापक उमेश गुँरागाइका अनुसार १ करोडको लागतमा विद्यालयको भवन निर्माण हुने भएको हो । विद्यालयमा २ भवन  निर्माण  हुने बताए । एक तलामा ४ कोठा रहनेछन् । जसमा निर्माण हुने भवनमा कर्मचारी कक्ष तथा सभा हल रहने उनले बताए । 

'वडा नं २ बाट  गत आर्थिक वर्षमा दिने भनिएको बजेट फ्रिज भएको छ, त्यसको  पुन:पहल गर्छौ । थप आर्थिक सहयोग सहयोगी दाता तथा पूर्व विद्यार्थीबाट अपेक्षा गरेका छौ' गुँरागाइले भने ।

यो विद्यालय २०१० सालमा स्थापना भएको धरानकै पुरानो मध्येको एक विद्यालय हो । हाल यस विद्यालयमा कक्षा १२ सम्म १४ सय  विद्यार्थी रहेका छन् । सुनसरीको एकमात्र प्राविधिक विद्यालय पनि हो । साथै, सिसि क्यामराको निगरानी र ४ संकायमा पढाइन्छ ।