झापा : अन्तर सहकारी कारोबार अन्तर्गत झापाको पहिलो पाइला वहुउदेश्य सहकारी भद्रपुर र टेवा कृषि सहकारी संस्था लिमिटेड कटुन्जे भक्तपुरको सहकार्यमा चामलको उत्पादन सुरु भएको छ ।

अन्तर सहकारी कारोबार अन्तर्गत विभिन्न तौलमा चामल प्याकेजिङ गरी बजार सम्म पुर्‍याउने कामको थालनी भएको छ । यसरी सुरुवात गरिएको अन्तर सहकारी कारोबारबाट कृषकको धान नबिक्ने र बिचौलियाबाट ठगिने समस्या समाधान हुने भएको छ ।

विगतमा किसानले उत्पादन गरेको धानले मूल्य मात्र नपाएको होइन बजार व्यवस्थापनमा समेत समस्या देखिएको थियो । यसरी अन्तर सहकारी कारोबार सुरु भए सँगै कृषकले धानको मूल्य मात्र हैन सहकारीले लिने मुनाफाको केही हिस्सा समेत कृषकले पाउने भएका छन् ।

साना किसानहरूबाट उत्पादित धान कृषकहरूको खेत वाटै उठाएर प्रशोधन गरी बजार व्यवस्थापन गर्ने र बिचौलियाको मनोमानीको अन्त्य हुने बताउँदै भक्तपुरको खाद्य तथा तरकारी बजार सँग समन्वय गरेर राजधानी भित्रको बजार व्यवस्थापन गरिने टेवा कृषि सहकारी संस्था लिमिटेड सल्लाघारी भक्तपुरका लेखा समिति संयोजक गङ्गा प्रसाद ख्याजुले बताए ।

सहकारीले बिचौलियाको अन्त्य गर्न भक्तपुरको टेवा कृषि सहकारी मात्र हैन मोरङको उर्लाबारी नगरपालिकामा रहेको फक्ताङ्लुङ कृषि सहकारी पनि सहकार्यमा रहेको बत्ताउँदै बिचौलियाले वाधा पुर्‍याउन चलखेल बढेको बताउँदै सहकारीले सोझै कृषक सामु पुगेर गतिविधिलाई तीव्रता दिएको पहिलो पाइला वहुउदेश्य सहकारी संस्था लिमिटेड भद्रपुरका खाद्यान्न व्यवस्थापन उपसमितिका संयोजक पुष्प पोख्रेलले जानकारी दिए ।

टेवा कृषि सहकारी संस्था लिमिटेडले विगतमा गाई पालन, बाख्रा पालनका क्षेत्रमा रहेर काम गर्दै आएको छ भने पहिलो पाइला वहुउदेश्य सहकारी संस्था लिमिटेडले पनि सामूहिक खेतीको राम्रो अनुभव वटुलेको छ । टेवा कृषि सहकारी संस्था लिमिटेडले व्यावसायिक कृषि प्रणाली लाई अगाडि बढाउँदै तरकारी खेतीलाई पनि अगाडि बढाएको छ । नुवाकोटमा ४० रोपनी जमिन खरिद गरेर विभिन्न व्यावसायिक खेतीको सुरुवात गरेको टेवा कृषि सहकारी संस्था लिमिटेडकी सदस्य तथा कृषि व्यवस्थापन समितिकी संयोजक हरिलक्ष्मी श्रेष्ठले जानकारी दिइन ।

चामल ब्रान्डका विभिन्न तौलका चामलहरू बजारमा ल्याउन सफल यो अन्तर सहकारी कारोबार नमुना कारोबारको रूपमा अगाडी ल्याइएको साथै यसै कारोबारबाट कृषकको जीवनस्तर माथि उठाउन सकिने प्रशस्तै सम्भावनाहरू रहेको पहिलो पाइला वहुउदेश्य सहकारी संस्था लिमिटेडका अध्यक्ष सनिपकुमार भुजेलले जानकारी दिए ।
सहकारीहरूको कारोबार एक अर्कामा सहकार्य गर्दै उत्पादक देखि उपभोक्ता बिचको असमानतालाई चिर्दै अगाडि बढ्ने कुरामा राज्यले समेत सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक देखिएको उनले बताए ।

Chamal 2