धरान : नेपाली काँग्रेसका नेता केशव कुमार बुढाथोकीले झापालाई गुट रहितको जिल्ला बनाउन पार्टीका नेता कार्यकर्तासँग अनुरोध गरेका छन् ।

झापाको शिवसताक्षीमा विपन्न परिवारको घर निर्माण शिलान्यास कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य समेत रहेका नेता बुढाथोकीले पार्टीमा गुटको राजनीति भए त्यसले नेता र कार्यकर्ता दुवैलाई फाइदा नहुने बताए ।

‘मैले पार्टीका पूर्व महामन्त्री कृष्ण सिटौला, पार्टीका प्रवक्ता विश्व प्रकाश शर्मा, पार्टीका झापा सभापति उद्धव थापा लगायतसँग झापालाई गुट रहितको जिल्लाका रूपमा मुलुकमा चिनाउन पार्टीले अभियानका रूपमा कार्यक्रम अघि सार्नुपर्ने सुझाव दिएको छु । झापा मात्र होइन, मुलुकलाई यो समस्याबाट मुक्त गराउन सबै नेता र कार्यकर्ता लाग्नु पर्ने हुन्छ ।’

झापामा पार्टीलाई बलियो बनाउन गुटको राजनीति छाड्न पनि नेता बुढाथोकीले कार्यकर्तालाई आग्रह गरे । उनले भने ‘प्लिज अब गुटको कुरा छोडौँ, पार्टीलाई बलियो बनाउन नयाँ ढङ्गबाट काम सुरु गर्नुको विकल्प छैन ।’ पार्टीलाई नयाँ चिराबाट अघि बढाउन पुराना पुस्ताका नेताले पार्टीलाई सघाएर युवा पुस्तालाई पदीय जिम्मेवारी दिनुपर्ने पनि उनले सुझाव दिएका छन् ।

‘हामी पुरानै नेताले पदीय जिम्मेवारी लिने काममा अझै पनि लडाई गर्‍यौ भने युवा पुस्ता पार्टीबाट पलायन हुने छन् । पछिल्ला दिनमा नेकपा पार्टी भित्रको विवादका कारण उनीहरूका कार्यकर्ता वाक्क दिक्क भएर नेपाली काँग्रेसमा प्रवेश गर्नेको जनलहर बढिरहेका बेला उनीहरूलाई समेत समेट्दै पार्टीअघि बढ्नुपर्नेमा उनले सुझाव दिए ।

नेकपाको आपसी लडाइबाट दिक्दार भएका अन्तर पार्टीका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गर्न आए भने क्षमता अनुसारका जिम्मेवारी पनि दिनुपर्ने उनले सुझाव दिए । ‘कसैलाई हली गोठाला बनाउन, पार्टीमा हुर्मत लिनका लागि मात्र ल्याइनु हुन्न । कुनै पद वा जिम्मेवारी दिन्छु भनेर ल्याउनुपनि हुँदैन । तर, उसको क्षमता छ भने म भन्दा पनि माथीको पदीय जिम्मेवारी दिन सक्नु पर्छ,’ उनले भने ।

पूर्व सामान्य प्रशासन मन्त्री समेत रहेका बुढाथोकीले नेकपाको बेमेल दुई शक्तिशाली राष्ट्रको झगडाका कारण भएको बताएका छन् । उनले भने ‘नेकपाको झगडा यो हुँदै होइन । नेकपाको बेमेलको खेल भारत र चिनले अगुल्टो झोसे जस्तो अनुसारको हुन्छ ।

भारत र चिनको इच्छा अनुसार नेकपाको झगडा भएको हो । भारत र चिनले चायो भने नेकपा मिलिक्कै फुटाउन र जुटाउन सक्छ । यी दुई देशसँग त्यो क्षमता छ ।’