धरान : धरानका निजी विद्यालयहरूले विद्यालय नै नलगाई मनोमानी शुल्क तोकेर विद्यार्थीको अभिभावकलाई विल पठाउन थाले पछि विद्यार्थीका अभिभावक आन्दोलित भएका छन् ।

शैक्षिक सत्र सुरु हुनु भन्दा पहिले चैत ११ देखि कोरोनाको महामारीको कारण लकडाउन भयो । त्यस पछि विद्यार्थी विद्यालय जान पाएका छैनन् । विद्यालयमा विद्यार्थी नगई निजी विद्यालहरुले आफू खुसी शुल्क तोकेर अभिभावकहरूलाई पत्र लेखेर विद्यार्थीलाई परिक्षामानै सामेल नगराउने भने पछि धरानका अभिभावक आन्दोलित भएका हुन् ।

आन्दोलित अभिभावकहरूको समूहले मङ्गलवार धरान उपमहानगरपालिकामा पुग्दा मेयर र उपमेयर कार्यकक्षमा नभेटेपछि धरान उपमहानगरको शिक्षा महाशाखामा घेराउ गरी नाराबाजी गरेका थिए ।

छोराछोरीलाई पढाउनै नपढाई आफू खुसी शुल्क निर्धारण गरेर अभिभावकलाई पत्र पठाएर निजी विद्यालयहरूले अभिभावकहरूको ढाड सेक्ने काम गरेको भन्दै धरान उपमहानगरपालिकाले शुल्क निर्धारण गर्नुपर्ने धरान अभिभावक विद्यार्थी परिवारको माग रहेको छ ।

जब सम्म धरान उपमहानगरपालिकाले शुल्क निर्धारण गर्दैन तब सम्म निजी विद्यालयहरूले अभिभावकबाट शुल्क लिन नपाउनुपर्ने उनीहरूको माग छ । मङ्गलवार धरान उपमहानगरपालिकामा धर्ना दिँदा मङ्गलवार बेलुकी सम्ममा निजी विद्यालयहरूलाई उपमहानगरले पत्र पठाउने भनेको थियो ।

त्यसैले बुधवार पनि नगरपालिका पुगेर धर्ना दिने धरान अभिभावक विद्यार्थी परिवारका एक जना सदस्यले भने । 'जब सम्म स्थानीय सरकारले शुल्क निर्धारण गर्दैन तब सम्म अभिभावकहरूको योआन्दोलन जारी रहनेछ।'

Dharna-1