धनकुटा : श्रीमान् वैदेशिक रोजगारमा गएको र घरमा आमाछोरा मात्र भएको थाहा पाएर मध्यरातमा बलात्कार गर्न पुगेका एक पुरुषलाई महिलाले खुकुरीले छप्काएकी छन् ।

धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका-१ कि ३० वर्षकी कमला गुरुङले आफूलाई बलात्कार गर्न आएका सोही स्थानका लीलबहादुर गुरुङलाई प्रतिकार स्वरूप खुकुरीले हानेर मारेकी हुन  ।

लीलबहादुरले बलात्कार गर्न खोजेपछि जोगिने प्रयासमा महिलाले खुकुरी प्रहार गर्दा लिल बहादुरको ज्यान गएको देखिएको प्रहरीले जनाएको छ ।झन्डै डेढ वर्ष अघि श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएपछि आफ्नो छोरा सँग बस्दै आएकी ती महिला माथि मङ्गलवार राती बलात्कारको प्रयास भएको थियो ।

रातको समयमा लीलबहादुरले कमलाको घरमा गई ढोका खोल्न कर गरेको  तर भित्रबाट ढोका नखोले पछि जवर्जस्ति  ढोका खोलेर आफूलाई बलात्कार गर्न खोजेको ती महिलाले प्रहरीलाई बयान दिएकी जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।

खुकुरीको छप्काइ भेटेका लीलबहादुर त्यहाँबाट भागेका ती महिलाले बताएकी छिन । लीलबहादुर भागेपछि ती महिला पनि आफन्तकोमा गएर बसेको र रातीको घटनापछि  खोजी गर्दा लीलबहादुरको शव खोल्सीमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

मृतकको शव पोष्मार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको जिल्ला एसपी अधिकारीले बताए। उनका अनुसार प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको  छ ।