धरान : धरान ११ मा सिंगापुरे लाहुरेसँग विवाह गरेकी २२ बर्षीया युवतीको रहस्यमय मृत्यु भएको भन्दै माइती पक्षले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

२२ बर्षीया सोनीहाङ्मा लिम्बुको मृत अवस्थामा शव हिजो भेटिएको थियो । कोठाको पङ्खामा झुन्डिएको भनी प्रहरीलाई खबर गरिएको थियो । तर प्रहरी पुग्दा झुन्डिएको अवस्थामा नभेटिएको खाटमा राखिएको अवस्थामा भेटिएको थियो । झुन्डिँदा प्रयोग गरेको भनिएको सल मात्रै पङ्खामा झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । यस कारण युवतीको मृत्यु रहस्यमय भएको भन्दै माइती पक्षले इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका हुन् । घटनाको बारेमा हत्या की आत्महत्या हो भनेर प्रहरीले पनि अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।

केटा पक्षका अनुसार सोनीले निकै समय ढोका नखोलेको र फोन पनि नउठाएपछि ढोका फुटाएर हेर्दा आफ्नै कोठाको पङ्खामा झुन्डिएको अवस्थामा भेटिएको थियो । झुन्डिएको भेटिएपछि उनलाई खाटमा झारेर राखेको बताएको छ । हिजो बिहानकै घटना भएकोले माइती पक्षलाई घटनाको बारेमा जानकारी गराउँदा माइती पक्ष नआएसम्म शव नउठाउन अनुरोध गरे पछि प्रहरीले सोनीको शव एक दिन सम्म रुङ्गुपर्यो । आज तेह्रथुम बाट माइती पक्ष आएपछि मात्र घटनाको मुचुल्का गरिएको डिएसपी बस्नेतले बताए ।

माइती पक्षले केटा पक्षलाई सोनीको हत्या गरिएको दाबी गर्दै निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही माग गर्दै उजुरी दिएको डिएसपी बस्नेतले बताएका छन् । विवाह गरेर केटा सिंगापुर फर्किसकेको अवस्थामा परिवारले केटीलाई मानसिक तनाव दिइएको र परिवारमा मनमुटाब रहेको माइती पक्षको दाबी छ । केटीलाई घर मात्रै भित्र्याइएको र विवाह पार्टी नभएको र परिवारले केटीलाई नस्विकारी रहेको बेलामा यस्तो घटना घट्नु रहस्यमय भएको भन्दै माइती पक्षले केटा पक्षलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् ।

यता प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ । शवको पोस्टमार्टम गर्न बिपी कोइराला स्वास्थ्य विज्ञानको प्रतिष्ठानको शव गृहमा लगिएको छ । शरीरमा रातो रातो डामहरू देखिन्छ अन्य चोटपटक भने नदेखिएको प्रहरीले बताएको छ ।