विराटनगर: मोरङको बिराटनगर महानगरपालिका १ स्थित गंगा चौकबाट प्रहरीले आइतवार बिहानै ठूलो रकमसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले करिब रातको २ बजेको समयमा नगदसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु बिराटनगर २ बस्ने चम्पालाल राठीको गोदाम घरमा तास खेल्दै गरेको अवस्थामा समातिएको प्रदेश नं १ प्रहरी कार्यालयले जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा राठीसहित बिराटनगर ५ बस्ने बर्ष ५० को जीवन रिजाल, बिराटनगर ३ बस्ने बर्ष ५१ को मुकेश कुमार अग्रवाल, बिराटनगर ७ बस्ने बर्ष ५१ को बिमल अग्रवाल र बर्ष ३८ को हंशराज जैन रहेका छन् ।
उनीहरुबाट प्रहरीले नगद १ लाख ९० हजार १ सय ४० रुपैयाँ र १७ बुक तास बरामद गरेको छ । पक्राउ परेका पाँचै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा राखिएको छ ।









































































